पथरी / १ नम्बर प्रदेश क्षेत्र नं. १ (क) का प्रदेश सांसद् कुलप्रसाद लिम्बूले मोरङ उर्लाबारीको किसानचौक–रमितेको आइतबारेसम्म सडक १ नम्बर प्रदेशकै आकर्षक सडक बन्ने दाबी गरेका छन् ।
सडक अनुगमनको क्रममा सांसद् लिम्बूले सडक साज सज्जाको हिसाबले पनि निकै आकर्षक बनाउन लागिपरेको बताए ।

आफ्नो निर्वाचन क्षेत्रभित्र रहेको सडक कृषि, सामाजिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महŒव बोकेको हुनाले निर्माणको गति तीव्र बनाउन आफू लागिपरेको उनले बताए । सडक आकर्षक, निर्माण गतिको हिसाबले उत्कृष्ट बनाउन आफूले प्रयास गरिरहेको सांसद् लिम्बूको भनाइ छ ।

सांसद् लिम्बूले छनौट गरेको यो बहुवर्षीय योजना हो । प्रत्येक प्रत्यक्ष निर्वाचित सांसद्ले कार्यकालमा एउटा बहुवर्षीय योजना छान्न पाउने भएपछि लिम्बूले ‘किसानचौक टाँडी हुँदै रमिते सडक’ छानेका थिए । मिक्लुखोलादेखि रमिते आइतबारेसम्म १९ किलोमिटर सडक निर्माणको लागि शर्मा एण्ड भीमेश्वर जेभी कन्स्ट्रक्सनले ५८ करोडमा ठेक्का पारेर काम शुरु गरिसकेको छ ।

सडकको गत मङ्सिर २२ गते प्रदेश अर्थमन्त्री इन्द्र आङ्बो लिम्बूले शिलान्यास गरेका थिए । शिलान्यासलगत्तै सडकको काम तीव्र गतिमा भइरहेको सांसद् कुलप्रसाद लिम्बूले बताए । काम शुरु भएको करिब तीन महिनामा ३० प्रतिशत काम भएको भौतिक पूर्वाधार विकास कार्यालयका अधिकृत इञ्जिनियर यामकुमार प्रधानले बताए ।

मिक्लाजुङ–१ रमितेमा सोही सडकको काम गर्दै गरेको तीनवटा डोजरमा माघ ५ गते अज्ञात समूहले आगजनी गरे पनि काम रोकिएको छैन । सडक २१ फिट चौडा बन्नेछ । अहिले ट्रयाक विस्तार (चौडाइ), सडकको साइडमा ड्रेन निर्माण, पुल तथा कल्भर्ट धमाधम बन्दैछ ।

सो प्रकृतिको निर्माण बजेटबाट प्रदेशमै तीव्र गतिमा निर्माण भइरहेको इञ्जिनियर प्रधानले बताए । टेण्डर परेपछि निर्माण कम्पनीले ढिलासुस्ती गर्दा नेपालमा लामो समयसम्म काम नहुने समस्या छ । यो सडक भने सांसद् कुलप्रसाद आफै लागेर सडक निर्माणको गति तीव्र भएको हो ।

१९ किमी सडकमा १४ मिटरको एउटा पुल र २० वटा कल्भर्ट पर्ने इञ्जिनियर प्रधानले बताए । निर्माण कम्पनीले २० महिना अर्थात् ०७८ सालको असारमा काम सक्ने सम्झौता भएको छ । यही गतिमा काम भए सम्झौता अवधिभन्दा अगाडि नै कालोपत्रे भइसक्नेछ । मोरङको मिक्लाजुङ गाउँपालिका साबिक मधुमल्ला, टाँडी र रमितेखोला गाविस मिलेर बनेको हो । जसमध्ये टाँडी र रमितेखोला चुरे क्षेत्रमा पर्दछ ।

जनसङ्ख्याको हिसाबले साबिक टाँडीमा १० हजार, रमितेमा १५ सय जनसङ्ख्या रहेपनि सडक कालोपत्रे बनेपछि पूर्व–पश्चिम मुख्य सडकबाट आधा घण्टामै रमिते पुगिने हुँदा त्यो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने सांसद् कुशल लिम्बूको भनाइ छ ।