भण्टाबारी / वर्षौंदेखि जीर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी सुविधासम्पन्न तथा अत्याधुनिक बनाउने काम धमाधम चलिरहेको छ । संघीय र प्रदेश सरकारले प्रहरीको नयाँ भवन बनाउन बजेट विनियोजन गरेपछि करिब एकवर्षयता भवन निर्माणकार्यले तीव्रता पाएको छ । संघीय र प्रदेश सरकारको बजेटबाट सुनसरी प्रहरी मातहतका विभिन्न १२ वटा भवनको निर्माणकार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन र स्टाफ ब्यारेक २०७५ साल १० महिना २० गते सम्झौता भई हालसम्म ५२ दशमलव २३ प्रतिशत काम सम्पन्न भएको छ । ८ करोड १ लाख ७२ हजार ७८३ रुपैयाँ लागतमा निर्माणाधीन उक्त भवन एकवर्षको अवधिमा काम सम्पन्न गर्ने लक्ष्य राखेपनि समय थप गरिने प्रक्रियामा रहेको सुनसरी प्रहरीले जनाएको छ । सुनसरी प्रहरीको कार्यालय भवन र स्टाफ ब्यारेक निर्माणको ठेक्का गौरी पार्वती अब्लिक कोशी एण्ड न्यौपाने जेभी मोती देवी काठमाडौले पाएको छ । त्यसैगरी सिनियर प्रहरी अधिकृत ब्यारेक,हिरासत भवन र स्टाफ मेष भवन बनाउने ठेक्का पाएको आशीर्वाद निर्माण सेवाले हालसम्म १९ दशमलव ६७ प्रतिशत काम सम्पन्न गरेको छ । २०७६ साल ६ महिना १५ गते सम्झौता भई काम सुरु गरेको उक्त निर्माण कम्पनीले ३ करोड १७ लाख १२ हजार ७१२ रुपैयाँ लागतमा २०७७ साल ६ महिना १४ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दुहबीको ब्यारेक भवन र मेष भवन निर्माणकार्य समेत चलिरहेको छ । उक्त भवन निर्माणकार्य गर्न २०७५ साल ९ महिना १९ गते सम्झौता गरेको गीतान्जली जोशीला जेभी बिराटनगर १३ ले हालसम्म ६२ दशमलव २७ प्रतिशत काम सम्पन्न गरेको सुनसरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहबीको ब्यारेक भवन र मेष भवन २ करोड २८ लाख २१ हजार ३९५ रुपैयाँ लागतमा निर्माणाधीन छन् भने नयाँ कार्यालय भवन निर्माण सम्पन्न भई संचालनमा आइसकेको छ ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय अन्तर्गत भवन निर्माण तथा शहरी विकास कार्यालय बिराटनगरबाट छुट्टाछुट्टै स्थानमा दुईवटा ईलाका प्रहरी र दुईवटा प्रहरी चौकी गरी चारवटा नयाँ प्रहरी कार्यालय निर्माणाधीन अवस्थामा छन् । इलाका प्रहरी कार्यालय देवानगंज र इलाका प्रहरी कार्यालय सितागंज त्यसैगरी प्रहरी चौकी सिगिंया र प्रहरी चौकी प्रकाशपुरको भवन निर्माणकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत निर्माणाधीन विभिन्न प्रहरी भवनहरु सुविधायुक्त, प्रविधियुक्त,भूकम्प प्रतिरोधात्मक तथा अत्याधुनिक भएको सुनसरीका डिएसपी बिनोद शर्मा बताउँछन् । जीर्ण तथा आवश्यक संरचना अभावमा प्रहरीलाई जनताको सुरक्षा गर्नु परेकोमा अब त्यस्तो समस्या भवन संचालनमा आएपछि नहुने शर्माको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका विभिन्न भवनका साथै हिरासत भवनसमेत अहिलेको तुलनामा सुविधासम्पन्न,प्रविधियुक्त तथा फराकिलो हुने उनले बताए ।