विराटनगर / मोरङको सुन्दरहरैंचा नगरपालिका–५ गौशालाकी १९ वर्षीय प्रीति तिम्सिना (अधिकारी) ले आत्महत्या गरेको घटना अनुसन्धानका क्रममा थप एक जना युवा पक्राउ परेका छन् ।
‘ब्ल्याकमेलिङ’ गरेर पैसा माग्दै प्रीतिलाई तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको खुलेपछि सुन्दरहरैंचा–४ का २३ वर्षीय हिमाल आचार्य पक्राउ परेका हुन् । प्रहरीले आचार्यलाई पनि आत्महत्या दुरूसाहन मुद्दामा म्यात थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीले जनाएको छ ।
फेसबुकमा नजिकिएका सुन्दरहरैंचा–४ का २४ वर्षीय ऋषिराम भट्टराईले प्रीतिसँगको शारीरिक सम्पर्कको भिडियो बनाएर ‘ब्ल्याकमेलिङ’ गर्दै नियमित पैसा माग्न थालेपछि उनले फागुन ८ गते बिहीबार दिउँसो झुन्डिएर आत्महत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
ऋषिरामले यौन सम्पर्क गरेको भिडियो बनाएर अर्कै ‘फेक’ फेसबुक आइडीमार्फत प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ सुरु गरेर नियमित पैसा माग्न थालेको पत्ता लागेको छ । मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीकाअनुसार ‘ड्याजेलिङ क्विन’ नामको अर्को ‘फेक’ फेसबुक बनाएर ‘ब्ल्याकमेलिङ’ र पैसाको ‘बार्गेनिङ’ गरेका ऋषिरामले त्यो आइडीबाट भने दीपा नाम गरेको केटी बनेर प्रीतिसँग कुरा गर्ने गरेको खुलेको छ ।
त्यस क्रममा उनले यौन सम्पर्क गरेको भिडियो फेसबुकमा पोष्ट गरिदिने र नभए आफूलाई पैसा दिनु पर्ने भन्दै प्रीतिसँग ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ गर्ने गर्थे । ‘ब्ल्याकमेलिङ’ गरेर पैसा दिनेलिने टुँगो भइसकेपछि ऋषिरामले त्यो पैसा लिनलाई भने सुन्दरहरैंचा–६ की १९ वर्षीया सञ्जिता निरौलालाई पठाउने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सञ्जिता भने दीपा नाम गरेकी केटी आफू नै भएको भन्दै पैसा लिन पुग्ने गरेकी थिइन् ।
ऋषिराम र सञ्जितालाई पक्राउ गरेको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा यो घटनामा आचार्यको पनि संलग्नता रहेको पत्ता लगाएको हो । ऋषिराम र आचार्य साथी हुन् । उनीहरुकै मिलेमतोमा ‘ब्ल्याकमेलिङ’ र ‘बार्गेनिङ’ हुने गरेको निस्कर्षमा प्रहरी पुगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकी नेत्रृत्वको प्रहरीले यो घटनाको अनुसन्धान गरिरहेको छ ।