धरान/ मिस नेपाल–२०२० को लागि आवेदन खुल्ला गरिएको आयोजक हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपालको लागि निःशुल्क फर्म भर्न सकिने आयोजकले जनाएको छ । सोमबारबाट हिडन ट्रेजरले आवेदन खुल्ला गरेको आधिकारिक जानकारी गराएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूले २७ मार्चसम्म आयोजकको कार्यालय वा मिस नेपालको वेबसाइटमार्फत् सिधै फर्म भर्न सकिने जनाएको छ । प्रतियोगितामा भाग लिन चाहने युवतीको उमेर १९ वर्षदेखि माथि २६ वर्षसम्म हुनुपर्ने र कम्तीमा पनि ५ फुट ४ इञ्च उचाइ हुनुपर्ने प्रावधान तोकेको छ ।

अविवाहित युवतीहरूले मात्रै स्पर्धामा सहभागी हुन पाउने आयोजक हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकारले जानकारी दिए । मिस नेपालको अडिसनका लागि भने देशका ९ शहरमा जाने बताएको छ । काठमाडौंसहित धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा, चितवन, वीरगञ्ज, धरान र बिर्तामोडमा अडिसन हुने उनले बताए । मिस नेपाल २०२० को घोषणा भने आगामी मे १५ मा हुनेछ । विजेताले पुरस्कारका रूपमा २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

यस वर्ष मिस नेपालमा ४ वटा विधा मात्रै समावेश गरिएको छ । जसमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल सुपर नेसनल रहेका छन् । मिस युनिभर्स भने यो वर्ष नहुने जनाइएको छ ।