चतरा,सुनसरी / सप्तकोशी नदीमा संचालन हुँदै आएको जेटबोट संचालकहरूले स्थानियलाई सहुलियत मुल्यमा यात्रा गर्न दिने सहमति भएपछि भएका जेटबोट पुनः संचालनमा आएका छन ।
सप्तकोशीमा तीन वर्षदेखि सञ्चालन हुँदै आएका जेटबोटका संचालकहरूले असुरक्षा बढेको भन्दै २९ माघदेखी बन्द गरेका थिए ।
जेटबोट संचालकले जल यातायतमा भोजपुर हतुवागढी गाउँपालिका ९– कोप्चे र धनकुटाको सहिदभूमि गाउँपालिका –९ त्रिवेणीका स्थानियलाई भाडामा सहुलियत दिएपछि सहमति भएको हो । कोप्चे र त्रिवेणीका स्थानियले सप्तकोशीमा चल्ने जल यातायातले अत्याधिक भाडा कायम गरेकोले सहुलियत दरमा आवतजावत गरिदिनुपर्ने माग राखेका थिए । स्थानियको मागको सुनवाई भएपछि बन्द भएको जेटबोट संचालनमा आएको सोमबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
वराहाक्षेत्र नगरपालिका १ चतराघाटदेखि हतुवागढीको कोप्चेसम्म स्थानियलाई चार सय र पर्यटकलाई पाँच सय रुपैयाँ लिदै आएका थियो । स्थानियले विरोध गरेपछि अहिले २ सय ५० रुपैयाँमा यात्रा गर्ने सहमति भएको त्रिवेणीका धनबहादुर राईले जानकारी दिए ।
यहाँका स्थानियले आवश्यक पर्ने खाद्यान्य र घरयासी सामाग्री चतरादेखि ल्याउने गर्दछन् । ‘दैनिक आवश्यक पर्ने सामाग्री किन्न चतरा र बरहाक्षेत्र पुग्नेपर्ने हाम्रो बाध्यता रहेको छ,’ उनले भने, ‘आवतजावतमा भाडा महङ्गो भए पछि सहुलियत दिन माग गरेका थियौ । सहमतिबाट हाम्रो मागको सुनवाई भयो । अहिले निरन्तर जल यातायात संचालनमा आउँने बातावरण बनेको छ ।’ स्थानियको हकमा सहुलियत दरमा जल यातायातमा यात्रा गर्न दिने सहमति भए पनि पर्यटकलाई पुरानै ५ सय रुपैयाँ कायम गरिएको छ । ओहरदोहरमा पर्यकटलाई जल यातयातमा एक हजार रुपैयाँ लाग्दछ । चतरादेखि कोप्चेसम्मको करिब २२ किलोमिटर दुरी रहेको छ ।
कोशीमा जेटबोट संचालनमा आए पछि आन्तरिक र वाहृय पर्यटकहरुले जलयात्रा गर्ने बढेको छ । भोजपुर र धनकुटाबाट सुनसरी उदयपुर आउने जाने स्थानीय यात्रुहरूलाई पनि सहज भएको छ । कोशीमा जेटबोट सञ्चालनमा आएपछि बराहक्षेत्र र आसपासमा आन्तरिक र वाह्य पर्यटक बढेका छन् । दैनिक ३ सय बढीले जलयात्रा गर्ने गरेको बताइन्छ । सप्तकोशीमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार जल यातायात कम्पनीले तीनवटा लामो दुरीका र चारवटा छोटो दूरीका जेटबोट सञ्चालन गर्दै आएका छन् ।
कोशीमा १५ जनादेखि ६० जनासम्म अट्ने दुई किसिमका जेटबोट सञ्चालनमा आएपछि तराई र पहाडको दूरीलाई जलमार्गले घटाएर स्थानीय यात्रुलाई सुविधा दिएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्फोटेसन प्रालिका अध्यक्ष राजेन्द्र कार्कीले बताए ।
नीति बनाइदिन राज्यसँग माग
जल यातायातका संचालकहरूले राज्यले आवश्यक कानुन र नीति निर्माण गरिदिनुपर्ने माग गर्दैं आएका छन् । नेपाल जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष विमलमान श्रेष्ठले आवश्यक कानुन, नीति र सञ्चालन विधि अहिलेसम्म नबनेको भन्दै राज्यले चाँडै यसमा ध्यान दिनुपर्ने बताए । उनले नीति निर्माण नहुदा असुरक्षित महसुस भएको बताए । ‘देश भित्रका ठूला नदीमा सरकारलेसमेत पानी जहाज सञ्चालन गर्ने योजना बनाएपछि हामी युवाहरु पनि हौसिएर जल यातयत संचालन ल्याएका छौं,’ उनले भने, ‘राज्यले आवश्यक कानुन, निति र सञ्चालन विधि बनाइदिनुपर्दछ ।’ करोडौं रुपैयाँ लगानी गरेर कोशीमा विभिन्न कम्पनीले जेटबोट सञ्चालन गर्दै आएका छन् । तर, जल यातायातका लागि सरकारले यात्रु र सञ्चालक कम्पनीको सुरक्षा निति नबनाउँदा पीडित हुनु परेको उनीहरूको भनाई छ । नीति नबन्दा जेटबोट, यात्रु र आफुहरुको सुरक्षाको ग्यारेन्टी समेत हुन नसकेको बताइन्छ । नेपाल रिभर ट्रान्सपोर्ट प्रालिका अध्यक्ष अनिष थापाले जल यातायात सम्बन्धी सरकारले बोलेजस्तै स्पष्ट नीति  वा निर्देशिका बनाएर लागु गरेको भए जेटबोट सञ्चालक समस्या नआउने बताए ।