धनकुटा/ ‘पूर्ण खोप सुरक्षित भविष्य’ नाराका साथ धनकुटा नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले शुक्रबार दादुरा रुबेला खोप अभियान–२०७६ लाई सफल बनाउन नगर स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाको अध्यक्षतमा सम्पन्न नगर स्तरीय अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य तथा सामाजिक विकास शाखा, प्राथमिक स्वास्थ्य सेवा केन्द्र धनकुटाका प्रमुख भोजकुमार भण्डारीले गरेका थिए ।

प्रमुख भण्डारीले दादुरा रुबेला बारे सहजीकरण गरेका थिए । भण्डारीले विश्व स्वास्थ्य सङ्गठनले दक्षिण एशियामा दादुरा रुबेला रोगलाई सन् २०१२ देखि २०२० सम्ममा निवारण गर्ने लक्ष्य राखेको भए पनि तोकिएको समयमा निवारण हुन नसकेको बताए ।
उनले तोकिएको अवधिमा रोग निवारण नभएपछि नेपालको लागि पुनः सन् २०२३ सम्म समय अवधि थप गरिएको बताए ।

यो खोप ९ महिना देखी ५ वर्षसम्मका बालबालिकाहरूमा मात्र लगाइने पनि स्वास्थ्य शाखा प्रमुख भण्डारीले जानकारी दिए । उनले धनकुटा नगरपालिका क्षेत्रको १० वटै वडामा फागुन ११ गतेदेखि १५ गतेसम्म ५ दिन खोप अभियान सञ्चालन गरिने पनि स्पष्ट पारेका छन् ।

धनकुटा नगरपालिका क्षेत्रका १० वटै वडाका वाडाध्यक्षहरूको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा वडा नं.१ मा ६ वटा, वडा नं.२ मा ९ वटा, वडा नं.३ मा ४ वटा, वडा नं.४ मा ४ वटा, वडा नं.५ मा ४ वटा र वडा नं.६ मा ५ वटा खोप केन्द्रहरु तोकिएका छन् ।

त्यसैगरी वडा नं.७ मा ४ वटा, वडा नं.८ मा ५ वटा, वडा नं.९ मा ८ वटा र वडा न.१० मा ४ वटा खोप केन्द्रहरू तोकिएका छन् । वडा नं.१ मा ६ सय ३५, वडा नं.२ मा ३ सय १२, वडा नं.३ मा १ सय ५६ जना, वडा नं.४ मा २ सय, ५० जना र वडा नं.५ मा १ सय ७० जना गरी जम्मा २ हजार, ४ सय २२ जना बालबालिकाहरू रहेका छन् ।

त्यसैगरी वडा नं.६ मा ३ सय २२ जना, वडा नं.७ मा ३ सय ७१, वडा नं.८ मा १ सय ८३, वडा नं.९ मा ४ सय ६५ र वडा नं.१० मा १ सय ६९ जना बालबालिकाहरूको लागि दादुरा रुबेलाको खोप अभियान सञ्चालन गरिने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए ।

नोबेल कोरोना भाइरसका बारेमा पनि जानकारी
सो अवसरमा नोवेल कोरोना भाइरसका बारेमा समेत सहभागीहरूलाई जानकारी दिइएको थियो । स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार यो भाइरस नयाँ प्रजातिको भएको, यो कसरी सर्छ, यसको रोगथाम र उपचारको लागि चुनौती देखिएको र यो रोग चीनको वुहान हुवेई र बाट फैलिएको भण्डारीले बताए ।

उनले विश्वमा ६५ हजार, २ सय ४६ जनालाई सङ्क्रमण गरिसकेको र १ हजार, ४ सय, ८९ जनाको मृत्यु भैसकेको र उपचार पछि ६ हजार, ९ सय ९३ जनामा सुधार आएको बताए ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले धनकुटा नगरपालिका क्षेत्रमा सञ्चालन गरिएको भनिएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नभएको बताए । उनले कुनै पनि निकाय वा तहबाट स्वास्थ्य बिमाबारे आधिकारिक पत्र नआएको बताए ।

उनले वडा वडामा आफू खुशी स्वास्थ्य बिमाको काम भैरहेको भन्ने सुनेको बताए । शिक्षा र चेतनाको हिसाबले स्थानीय सरकारले सञ्चालन गर्नु पर्ने विविध कार्यक्रमहरूमा एन्जीओकरण हुन थालेको आरोप लगाए । हुसाडेक नेपाल धनकुटाले सञ्चालन गरिरहेको इजिआरपी कार्यक्रम पनि त्यही कारणले प्रभावकारी नभएको थापाले दाबी गरे ।

कार्यक्रममा वडा नं.१ देखि १० सम्मका वडाध्यक्षहरू, स्वास्थ्य शाखाका कर्मचारीहरू, स्थानिय सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।