विराटनगर/ साकिराको उपमा पाएकी चर्चित गायिका इन्दिरा जोशीको प्रस्तुतिले विराट एक्स्पोमा सहभागीहरू शुक्रबार साँझ छमछमी नाचे । उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन प्रदान गरिन् ।

‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका जोशीले विराटनगरको चिसो माहोललाई तताइन् । उनले आधा दर्जन गीत प्रस्तुत गरी सहभागीलाई छमछमी नचाइन् । ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउन शुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताइन् ।

‘छुनलाई होइन हेर्न चैं पाइन्छ, आँखालाई सेक्न जति नि पाइन्छ..., उध्रेको चोली छ है तैपनि लाइन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाइरहँदा प्रदर्शनीस्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरू नाचे । महाशिवरात्रिको साँझ प्रदर्शनीस्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु कि क्या हो ठूली...’ बोलको गीतले थप मनोरञ्जन प्रदान गरिन् ।