बिर्तामोड /  देशकै सबैभन्दा धेरै सदस्य रहेको झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको निधन भएको छ । विगत लामो समयदेखि मिर्गौला रोगबाट पीडित सञ्जेलको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
लामो समयदेखि सञ्जेलले मिर्गौलाको डायलासिस गर्दै आएका थिए । उनले सहारा नेपाल सहकारीको २ कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरेका थिए । दोस्रो कार्यकाल पूरा नहुँदै सञ्जेलको निधन भएको हो ।
१ लाख ४० हजार सदस्य रहेको सहारा नेपालमा उनी लोकप्रिय अध्यक्ष थिए । उनकै कार्यकालमा सहारा नेपालले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएको थियो । लामो समयसम्म कम्युनिष्ट राजनीतिमा आबद्ध भएका सञ्जेल पछिल्लो समय सहकारी अभियानका कुशल अभियन्ताका रूपमा दरिएका थिए ।
६८ वर्षीय सञ्जेल बिर्तामोड नगरपालिका–२ का स्थायी बासिन्दा थिए । उनको निधनले सहकारी क्षेत्रमा ठूलो क्षति पुगेको छ । २००८ साल असार २६ गते जन्मिएका सञ्जेलका श्रीमती, २ छोरा र २ छोरी रहेका छन् ।