यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकाको रानीगाउँस्थित विद्युत् सहकारी संस्थाले आर्थिक कारोबार नदेखाएको भन्दै उपभोक्ता आन्दोलित बनेका छन् ।

सहकारीविरुद्ध ९ बुँदे माग राख्दै उनीहरू आन्दोलित बनेका हुन् । गाउँपालिकाको कार्यालय घेराउँमा पुगेका स्थानीयले आर्थिक हिसाब किताब देखाउनु पर्ने, ६ वर्षदेखि नभएको साधारणसभा तत्काल गर्नुपर्ने लगायतका ९ बुँदे माग राखेका हुन् । संस्थामा रहेको १ करोड ९ लाख रुपैयाँ रकमको आर्थिक कारोबार शेयर सदस्य र उपभोक्ताहरूलाई नदेखाएको भन्दै उनीहरू आक्रोशित समेत भएका छन् । लामो समयदेखि संस्थाको साधारणसभा गरेकाले हरहिसाब माग्दा देखाउन नमिल्ने भन्दै पन्छिएकाले बाध्य भएर आन्दोलित बन्नु परेको शेयर सदस्यसमेत रहेका कुम्मायक–३ का नरेन्द्र कार्कीले बताए ।

उनका अनुसार संस्थाले केही पुरानो अडिट रिपोट देखाएको छ । तर, हामीलाई शङ्का लागेर सबै हिसाब देखाउन भन्याँै । तर, त्यो नभएपछि आन्दोलन गर्नु परेको हो । सहकारीले ६ वर्षसम्म साधारणसभा समेत गरेको छैन । कुम्मायक ३ र ४ का नागरिक गत पुष २७ गतेदेखि सहकारी विरुद्ध आन्दोलित भएका थिए । समस्या समाधान गर्न सहकारी संस्था र उनीहरू बीच ६ पटक बैठक बसेको छ ।

तर, सहकारीले आर्थिक कारोबार सही तरिकाले नदेखाएको भन्दै पुनः आन्दोलन गर्नुपरेको कुम्मायक–४ का तारानाथ सम्बाहाम्फे बताए । यता सहकारी संस्थाले साधारणसभा बस्न ढिलो भएको स्वीकार गरेको छ । तर रकम हिनामिना नभएको कुम्मायक ४ का वडाध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष पूर्णबहादुर खड्काले बताए । उनले असारसम्मको अडिट रिपोट देखाएको तर उपभोक्ताले सबै कागजी बिल देखाउन माग गरेपछि त्यो देखाउन नमिल्ने भनी आफूले जानकारी गराएको बताए । संस्थाले फागुन १६ गते साधारण सभा बोलाउने तयारी गरेको उनले दाबी गरे ।

‘एक रुपैयाँ पनि हिनामिना भएको छैन हामी त्यो सबै १६ गतेको साधारण सभामा प्रष्ट गर्छौँ’–ब्लाष्टसँग खड्काले भने । २०७० सालदेखि दुबै वडामा ग्रामीण विद्युतीकरणको काम हुँदै आएको छ । ५ करोड ६२ लाख रुपैयाँको लागतमा वाइबा जेभीले विद्युत् विस्तार गर्दै आएको छ । अयोजनाको १० प्रतिशत ५६ लाख २५ हजार रुपैयाँ उपभोक्ताले व्यहोर्नु पर्ने हुन्छ । गाउँमा विद्युत् सम्बन्धी व्यवस्थापन गर्न प्रयास गर्दा गर्दै साधारण सभा गर्न ढिला भएको उनले जनाए ।

birodh