सङ्खुवासभा/ सङ्खुवासभाको खाँदबारीमा गायक प्रशान्त तामाङका गीत प्रत्यक्ष सुन्न स्थानीयको भीड लाग्यो ।

पहिलो पटक सङ्खुवासभा आएका प्रशान्तका प्रशंसक सङ्खुवासभा र भोजपुरलगायतका क्षेत्रबाट आएका थिए । खाँदबारीमा सञ्चालित रिमझिम मिनी महोत्सवमा प्रशान्तले मङ्गलबार साँझ ७ बजे गाउने आयोजकले जनाएको थियो तर उनी १० बजे मात्र कार्यक्रमस्थलमा उपस्थित भए । उनको प्रतीक्षामा दर्शकहरू टिकट हातमा लिएर प्रवेशद्वारबाहिर लामो समय बसे ।

साँझबाटै प्रतीक्षारत दर्शकहरूको भीडमा निराशा छाइसकेको बेला प्रशान्त स्टेजमा चढेपछि टुँडिखेलमा छुट्टै रौनक थपियो । गेटबाट भित्र पस्न तँछाड मछाड गर्दै छिर्ने दर्शकहरूलाई मिलाउन सुरक्षाकर्मीलाई धौ धौ प¥यो ।

स्टेजमा आउने बित्तिकै ढिलो भएकोमा माफी मागेर उनले प्रस्तुति शुरु गरे । इण्डियन आइडल जितेपछि चर्चामा आएका उनले ‘असारे महिनामा’ बोलको गीतबाट शुरु गरेर करिब एक दर्जन गीत प्रस्तुत गरे ।

उनले गोरखा पल्टनका गीतहरू तथा हिन्दी गीतहरूसमेत प्रस्तुत गरे । उनले अङ्ग्रेजी भाषामा समेत गीत गाए । उनले झण्डै दुई घण्टाको प्रस्तुति दिए । स्टेजमा प्रशान्त गाउँदै थिए, अघिल्तिरको खुल्ला मैदानमा दर्शकले सँगै गाउँदै नाचेर साथ दिए ।

खाँदबारीको तीनपोखरी समाज विकास क्लबले गत एक महिनादेखि आयोजना गरेको मेलामा नेपालका ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिइसकेका छन् ।

यही महिना चर्चित गायिका मेलिना राई, ज्योति मगर, गायक कमल खत्रीलगायतले प्रस्तुति दिइसकेका छन् । अब केही दिन सञ्चालन हुने मेलामा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मनोरञ्जनात्मक खेल तथा कार्यक्रम राखिएको छ ।