काठमाडौं/ तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाल पनोरमाको फिचरतर्फ फिल्म ‘बुलबुल’ ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड पाएको छ ।

महेत्सवमा उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री, जुरी अवार्ड पुरुष र महिला विधामा अवार्ड प्राप्त गरेको हो । स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन् । मुकुन भुसालले उत्कृष्ट अभिनेता जुरी अवार्ड (पुरुष) पाए भने उत्कृष्ट अभिनेत्री जुरी अवार्ड (महिला) लक्ष्मी बर्देवाले पाइन् ।

फिल्म ‘गोपी’ ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट फिल्मको जुरी अवार्ड पाएको छ । गोपीबाटै बिपिन कार्की उत्कृष्ट अभिनेता र शैलेन्द्र डी कार्की उत्कृष्ट छायाँकार भए । महोत्सवको सबैभन्दा ठूलो पुरस्कार उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर (गौतम बुद्ध अवार्ड) टर्कीको ‘ट्रयाप’ ले पायो । जितसँगै फिल्मले १५ सय अमेरिकी डलर हात पा¥यो ।

नेपाली सर्ट फिल्मतर्फको जुरी अवार्ड केदार श्रेष्ठ निर्देशित जुनुको जुत्ताले पायो । अन्तर्राष्ट्रिय सर्ट फिल्मतर्फको जुरी अवार्ड युक्रेनको ‘आना’ ले पाएको थियो । नेपाली सर्ट फिल्मतर्फको अवार्ड प्रवीनकुमार राउतद्वारा निर्देशित ‘कलम’ ले पायो । सर्ट फिल्मतर्फको उत्कृष्ट निर्देशकको अवार्ड प्रवीनले नै पाए । सर्ट फिल्मतर्फको जुरी मेन्सन अवार्ड श्रीलङ्काको ‘दि अदर हाफ’ ले पाएको थियो ।

गणेश पाण्डे निर्देशित डकुमेण्ट्री ‘को–हस्बेण्ड’ ले उत्कृष्ट डकुमेण्ट्री अवार्ड पाएको छ । उत्कृष्ट एनिमेटेड सर्ट विधाको अवार्ड चीनको ‘स्प्रिट अफ दि ड्रइङ गर्ल’ ले पायो । अन्तर्राष्ट्रिय सर्ट फिल्म विधातर्फ भारतीय फिल्म ‘नुरी’ उत्कृष्ट भयो । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाम थिएटरमा ५ दिनसम्म चलेको थियो ।