विराटनगर/ खुल्ला छोडेकोे कपाल । कालो हाइनेक, कालो लेगिज र त्यसमाथि बुट्टा भरेको मिनिस्कट लगाएर आइतबार राति गायिका मेलिना राई जब स्टेजमा देखा परिन् । सहभागीले ताली बजाएर स्वागत गरे ।

आकर्षक पहिरनमा सजिएर गाउँदै नाच्ने शैली अपनाएकी गायिका राईले दोस्रो पटक विराटनगर आएको जानकारी दिँदै आफ्नो प्रस्तुति आरम्भ गरिन् । विराटनगरमा जारी विराट एक्स्पोमा गाउन आइपुगेकी मेलिनाले फिल्मको गीतबाट आफ्नो प्रस्तुति आरम्भ गरिन् । २ रूपैयाँ फिल्ममा गाएको चर्चित गीत ‘कुटुमा कुटु सुपाडी दाना...’ बाट उनले सहभागीहरूलाई नचाउन शुरू गरिन् । आफू सिङ्गल रहेको मञ्चबाट जानकारी दिँदै सहभागी युवाहरूको माहोल तताउँदै उनले ‘दाह्री फुल्यो वैशाखमा, चस्मा लाउँछौं पावर...’ बोलको गीत गाउँदा माहोल झन् तात्यो ।

एक दर्जन चर्चित गीतहरू प्रस्तुत गरिरहँदा गायिका मेलिनाको गीतमा नाच्ने युवाहरूको भीड देखिन्थो । फागुनको शुरूवातमा दिउँसो पारिलो घाम लागे पनि साँझदेखि बढेको जाडोको कुनै परवाह नगरी एक्स्पोको मैदानभरि जम्मा भएका युवाहरू गायिका राईको गीतमा स्वरमा स्वर मिलाउँदै ज्याकेट खोलेर नाचेको देखिन्थ्यो । प्रस्तुतिको बीचमा मेलिनाले ‘टिकटकमा देखेको तिमीलाई ....’ बोलको गीतमा सहभागिहरू छमछमी नाचे । उक्त गीत प्रस्तुत गरिसकेपछि सहभागीले ‘वान्समोर’ भन्दै चिच्याएपछि मेलिनाले पुनः दोस्रो पटक गाइन् । त्यसपछि स्टेजबाट बिदा भइन् ।

साढे ६ बजेबाट शुरू भएको उनको प्रस्तुति राति आठ बजे सकिएको थियो । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा शुरू भएको विराट एक्स्पोमा दैनिक चर्चित कलाकारहरूको प्रस्तुति रहेको छ । एक्स्पो उद्घाटनको पहिलो दिन शुक्रबार गायिका आस्था राउतको प्रस्तुति थियो । उनको प्रस्तुतिमा एक्स्पोमा आएका उपभोक्ता र सहभागीहरूले भरपूर मनोरञ्जन लिएका थिए । यस्तै दोस्रो दिन शनिबार चिर्चित गायक प्रमोद खरेलको प्रस्तुति थियो ।

सार्वजनिक बिदाको दिन भएको कारणले गर्दा पनि अन्य दिनको तुलनामा शनिबार उपभोक्ताहरूको उल्लेखनीय सहभागिता थियो । गायक खरेलले आफ्ना चिर्चित गीतहरू प्रस्तुत गरी सहभागीलाई मनोरञ्जन प्रदान गरे । आज (मङ्गलबार) साँझ चिर्चित गायक सुगम पोखरेलको प्रस्तुति रहने बताइएको छ । फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा दैनिक चर्चित कलाकारहरूबाट एक्स्पोमा आएका उपभोक्तालाई मनोरञ्जन दिने भएका छन् । एक्स्पोमा स्थानीय कलाकारको प्रस्तुतिले पनि थप आकर्षण बढाउने गरेको छ ।