दमक/ झापाको दमक–६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताहरूले लामो समयदेखि बचत रकम फिर्ता पाउन सकेका छैनन् ।

बचतकर्ताले रकम फिर्ता त पाएनन् नै । अझ आर्थिक अनियमितता र बचतकर्ताको खाता नै अपचलन गरेको समेत तथ्य फेला परेको छ । केही महिनाअघि विवादमा आएको सहकारी हो स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था लि. दमक । दमक बजारमा कार्यालय रहेको सो सहकारीमा कतिजना शेयर सदस्य छन् भन्ने स्पष्ट तथ्याङ्कसमेत छैन भने सञ्चालक समिति पनि छैन । यहाँ कार्यरत कर्मचारीले बचतकर्ताको रकम हिनामिना गर्ने र खाताको दुरुपयोगसमेत गरेको प्रमाण फेला परेको छ । बचतकर्ता दिपु चापागाईंले बचत गरेर राखेको रकम उनले थाहै नपाई सहकारीका व्यवस्थापक सोगनप्रसाद राजवंशीले पटक–पटक निकालेको पाइएको छ ।

२०७५ साल असार १३ गते जम्मा भएको १ लाख ६५ हजार सोही दिन संस्थाका व्यवस्थापक राजवंशीले निकालेको पाइएको छ । त्यति मात्र होइन, व्यवस्थापक राजवंशीले पटक–पटक गरी १९ पटक चापागाईंलाई जानकारी नै नगराई पैसा निकालेर खाताको अपचलन गरेका छन् । आफ्नो खाता अपचलन भएपछि चापागाईं आक्रोसित भएका छन् । ‘मेरै खाताको पैसा मैले नै ननिकाली कसरी घट्दै जान्छ ? मैले चेक नै नदिएको व्यक्तिले कसरी मेरो खाताबाट पैसा निकाल्न सक्छ ?’ आक्रोसित हुँदै उनले भने, ‘सहकारीमा बदमासीको यो कतिसम्मको हद हो ?’

मेहनत गरेर कमाएको पैसा सहकारीका बाठा र ठूला कर्मचारीले यसरी मनलाग्दी गरेपछि पैसाको सुरक्षा खोज्न कहाँ जाने अन्योलमा परेको उनी बताउँछन् । उनले यो समस्या लिएर प्रशासन कार्यालय, सहकारी अभियन्ता र प्रदेश नं. १ को सहकारी शाखामा समेत पुगेपनि कहीँबाट न्याय नपाएको बताए । आफ्नो खातामा जम्मा गरेको रकम नै गायब भएपछि उनी न्यायका लागि भौंतारिए पनि न्याय पाउन नसकेको गुनासो गरे ।

चापागाईंको मात्र खाता अपचलन भएको होइन, यो सहकारीमा । यही सहकारीमा रकम बचत गर्ने बचतकर्ता विक्रम शेर्माको खाता पनि अपचलन भएको प्रमाण भेटिएको छ । शेर्माले बचत गरेको भन्दा कम रकम मात्र दाखिला भएको छ । शेर्माले बचत गरेको २ हजार रुपैयाँ बचत खाताको पासबुकमा चढाइएको छ । तर सिस्टममा भने १ हजार मात्र चढाइएको प्रष्ट देखिन्छ ।

यो पनि एक पटक मात्र होइन, पटक–पटक भएको छ । मिति २०७६ साउन २१ गते, २२ गते, २९ गते निरन्तर यस्तै भइरहेको छ । आफूले बचत गर्दै आएको रकम पासबुक र संस्थाको रेकर्डमा नमिलेपछि उनी छक्क परेका छन् । उनी भन्छन्, ‘सहकारीमा यतिसम्मको ठगी धन्दा कहिले सम्म हो ? हामीले न्याय कसरी पाउने ?’ उनले बचत रकम फिर्ता लिन जाँदा रकम फरक परेको थाहा पाए । यद्यपि उनले अहिलेसम्म पनि आफ्नो बचत रकमको कुनै पनि पैसा फिर्ता नपाएको बताएका छन् ।

यसरी कुनै पनि वित्तीय संस्थाको कर्मचारीले रकम अपचलन गरेमा वा कीर्ते हस्ताक्षर गरेर रकम हिनामिना गरेमा ठगी र कीर्ते जालसाजको मुद्दा लाग्न सक्ने कानूनी प्रावधान छ । यस्तो गल्ती गर्ने व्यक्तिलाई ५ वर्षसम्म जेल सजाय र ५० हजार रुपैयाँसम्मको सजाय हुने कानूनी व्यवस्था रहेको कानून व्यवसायी देवेन्द्र भण्डारीले बताए ।

अवैधानिक रूपमा बचतकर्ता अर्को साहकारीमा सार्दै
यता अन्य पीडितहरूलाई पैसा फिर्ता गर्छु भन्दै दमकमा अर्को डुब्न लागेको सहकारीमा नामसारी गराइरहेको तथ्यसमेत खुलेको छ । अहिले पनि आफ्नै बचतकर्ताको रकम फिर्ता गर्न नसकिरहेको नवरङ बचत तथा ऋण सहकारी संस्थामा नामसारी गर्दै गरेको पनि भेटिएको छ । स्वर्गपुरीको कार्यालयमा जाँदा नवरङका फारमहरू भेटिए । स्वर्गपुरीको कार्यालयमा नवरङका खाता खोल्ने फारामहरू भेटिएको र केही सदस्यहरूको नामसारीसमेत गर्दै गरेको भेटिएको छ ।

बचत कर्ता पवित्रा प्रधानका अनुसार स्वर्गपुरीको कार्यालयमा बचत रकम फिर्ता लिन जाँदा स्वर्गपुरीले दिन नसक्ने र अब नवरङबाट पैसा पाइने भन्दै नामसारीको प्रक्रियामा फाराम भराउन लगाएको बताइन् । स्वर्गपुरीमा जम्मा गरेको रकम नवरङबाट कसरी पाइन्छ भन्ने जिज्ञासामा कर्मचारीले अब स्वर्गपुरी र नवरङ एउटै भइसकेको भन्दै फाराम भर्न लगाएको बताइन् । उनीसँगै भूमिका बुढाथोकी, सुरेश लिम्बूलगायतलाई नवरङ बचत तथा ऋण सहकारीमा स्वर्गपुरी मर्जर भएको भन्दै फाराम भर्न लगाएको उनीहरूले बताए । उनीहरूले आफ्नो डुबेको पैसा पाउने आशामा नवरङको फाराम भरेको बताए ।

यता नवरङ सहकारीका व्यवस्थापक सरमन राईले स्वर्गपुरी बचत तथा ऋण सहकारी नवरङमा मर्जर हुने कुरा नभएको बताए । कुनै पनि सहकारीको मर्जर गर्न दुवै सहकारीको साधारणसभाले अनुमोदन गर्नुपर्ने प्रावधान रहेको छ । दुवै संस्थाको अनुमोदनपछि सम्बन्धित सरकारी तहबाट मर्जरका लागि स्वीकृति लिनुपर्ने वा रजिष्ट्रारको कार्यालयबाट प्रमाणित गराएपछि मात्र वैधानिक रूपमा मर्जर गर्न मिल्ने बचत तथा ऋण सहकारी सङ्घ (नेप्सकुन) का झापा उपाध्यक्ष तुलाराम न्यौपानेले बताए । उनका अनुसार अहिलेसम्म स्वर्गपुरी र नवरङले मर्जरका लागि कुनै प्रक्रिया अगाडि बढाएका छैनन् ।