भद्रपुर/ झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढीका व्यस्त चोक र बजारक्षेत्रमा अपराध नियन्त्रण अभियानलाई लक्षित गरी पाँच वर्षअघि जडान गरिएका सीसी क्यामेरा बन्द भएपछि सदरमुकाम क्यामेराविहीन भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको संयोजन तथा स्थानीय सङ्घ–संस्थाको आर्थिक सहयोगमा चन्द्रगढीको लेखनाथ चोकदेखि चन्द्रगढी कै ट्रेड युनियन चोकसम्ममा चारवटा क्यामेरा जडान गरिएको थियो ।

प्रहरी, प्रशासन, उद्योगी, व्यापारी, सङ्घ–संस्थालगायतको उपस्थितिमा ०७१ पुस ११ गते एक कार्यक्रमको आयोजना गरी सीसी क्यामेरा सञ्चालनमा आएको घोषणा गरिएको थियो ।

स्वचालित क्षमता रहेका पिटिजेट नामक क्यामरा लेखनाथचोक र ट्रेड युनियन चोकमा तीनसय साठी डिग्रीमा घुम्न सक्ने गरी जडान गरिएको थियो । त्यसैगरी वीरेन्द्र उच्चमाविछेउ र कृषि विकास बैङ्कछेउको चोकमा निश्चित (फिक्स) क्षमता भएका सीसी क्यामेरालाई ३ लाख ३२ हजार २ सय २० रुपैयाँको लागतमा जडान गरिएको थियो । सीसी क्यामेराको कण्ट्रोल रुम जिल्ला प्रहरी कार्यालय झापामा राखी ती क्षेत्रहरूको क्यामेरामार्फत् निगरानी गरिने जनाइएको थियो ।

चन्द्रगढी क्षेत्रमा दैनिक विभिन्न प्रकारका अबाञ्छित क्रियाकलाप बढेर गएपछि क्यामेराको आवश्यकता देखेर स्थानीयलगायत सरोकारवालाको लामो छलफलमा क्यामेरा जडान गरिएको थियो । क्यामेरा जडानको लागि सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद पाठकको संयोजकत्वमा पन्ध्र सदस्यीय सीसीटिभी क्यामेरा व्यवस्थापन समिति गठन गरेको थियो । समितिले झापाका विभिन्न ४७ जना दाता तथा सङ्घ–संस्थाबाट रकम उठाई चारवटा क्यामरा खरिद गरेको थियो ।

क्यामेरा सामुदायिक प्रहरीले जिल्ला प्रहरीलाई जिम्मा लगाएपछि ढुक्कसँग चन्द्रगढीका बासिन्दा बसेका थिए । तर, जडान गरेको एक वर्षदेखि पुनः सञ्चालनमा नआएपछि दाताको रकम बालुवामा पानी भएको छ । जडान गरिएका सामग्री गुणस्तरहीन हुन् वा प्रहरीको लापरबाहीले प्रयोगविहीन भएकोप्रति स्थानीय अनभिज्ञ छन् । क्यामेरा बन्द भएकाले चन्द्रगढीमा केही घटना भयो भने पत्ता लगाउन प्रहरीलाई अप्ठ्यारो हुने स्थानीयको भनाइ छ । क्यामेरा बन्द भएको बारेमा दाताहरू रुष्ट देखिएका छन् । मुख्य चोकमै क्यामेरा नभएपछि सुरक्षित महसुस गर्न नसकिने दाताहरूको भनाइ छ ।

क्यामेरा जडान गर्न पुनः चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ज्ञानबहादुर चौहानको नेतृत्वमा समिति गठन गरिएको छ । विगतमा जडान गरिएका क्यामेरा पोलमा त्यसै अलपत्र पारेर पुनः सेवा केन्द्रले नाटक शुरु गरेको स्थानीयको आरोप छ ।

समितिमा जिल्ला प्रहरी कार्यालय झापा, वडा कार्यालय भद्रपुर, पूर्व प्रहरी सङ्गठन, महिला सञ्जालका प्रतिनिधि, उद्योगी व्यवसायीका प्रतिनिधि, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि समेटिने गरी १० सदस्यीय समिति गठन गरिएको छ ।

समितिले विभिन्न वित्तीय संस्था तथा दाताहरूसँग समन्वय गरी आर्थिक सङ्कलन गरेर सिसी क्यामेरा जडान गर्ने जिम्मेवारी लिएको छ । विगतमा जडान भएर पनि काममा आउन नसकेको सिसी क्यामेरा सञ्चालनको कमजोरीसमेत खोजी गरी अब भने निरन्तर सञ्चालनको वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

विगतमा जडान गरिएका क्यामेरा मर्मत र निगरानी नगरेका कारण बन्द भइरहेको अवस्थामा तत्काल अढाई लाख रुपैयाँको लागतमा केही दिनअघि पुनः जडान गरिएको जिल्लाका एसपी कृष्णप्रसाद कोइरालले बताए । चन्द्रगढीको लेखनाथ चौक र ट्रेड युनियन चोकमा जडान गरी सञ्चालनमा आइसकेको एसपी कोइरालाले जनाए ।

चन्द्रगढी आसपास पहिलो चरणमा ८ वटा क्यामेरा जडान गर्ने गरी समिति समेत चयन गरिसकेको उनले जनाए । प्रविधिको सहयोग बिना अनुसन्धानमा समस्या हुने भएकोले अनुसन्धानको बाटो खोजिदिन क्यामेरा प्रमुख भएको उनको भनाइ छ । स्थानीय सरकारले सुरक्षाको विषयमा बजेट छुट्याउन अनिवार्य रहेको उनले सुझाव दिए ।

विगतमा क्यामेरा जडान समितिमात्र बन्यो तर, मर्मत समिति नबनेका कारण संरक्षण हुन नसकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष चौहानको भनाइ छ । हाल निर्माण भएको समितिले क्यामेरा जडान गरेलगत्तै कोषसहितको संरक्षण समिति बनाएर निरन्तरता दिने उनले बताए ।