पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा र जनचेतनाका लागि सचेतना होर्डिङ बोर्ड राख्ने काम अघि बढेको छ ।

वर्ड लिङ्क कम्युनिकेशन र पथरी अस्पतालले तयार गरेको सचेतनामुलक होर्डिङ बोर्डको सामाजिक अगुवाहरू सम्मिलित एक कार्यक्रमकाबीच मङ्गलबार इलाका प्रहरी कार्यालय पथरीलाई हस्तान्तरण गरिएको छ । वर्ड लिङ्कका राजन तिम्सिना र पथरी अस्पतालका अध्यक्ष माधव कोइरालाले नगर प्रमुख दिलीपकुमार राईमार्फत प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीलाई बोर्ड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रहरी प्रमुख गिरीले अपराध भएपछि अपराधी पक्राउ गर्नुभन्दा अपराध नै हुन नदिने समाज सिर्जना गर्नमा जोड दिँदै जनचेतनामुलक कार्यक्रम समेत उत्तिकै रूपमा अघि बढाउनु पर्ने धारणा राखे । फरारका सूचीमा रहेका अपराधीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रियामा लान सक्रियता देखाएको प्रसङ्ग उल्लेख गर्दै उनले आफूले पछिल्लो १ महिनामा लामै समयदेखि फरारको सूचीमा रहेका विभिन्न मुद्दाका ३१ जनालाई पक्राउ गरी कारबाही प्रक्रियामा लगेको सुनाए ।

नगर प्रमुख राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमको नगरमा प्रभाव परिरहेको जनाउँदै नगरपालिका कार्यालयले शान्ति सुरक्षा कायम गर्ने कुरामा थप मद्दत पु¥याउने जनाए । उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारिता बढाउँदै यी र यस्ता प्रकारका कार्यक्रमले सचेतना छर्ने विश्वास व्यक्त गरे ।

शान्ति सुरक्षा तथा सडक दुर्घटनाका सन्देशहरू लेखिएका २७ वटा बोर्ड ४५ हजारको लगानीमा निर्माण गरिएको कार्यक्रममा जानकारी गराइयो । ‘शान्तिपूर्ण र सुरक्षित समाजको लागि’ भन्ने कुरालाई मुख्य उद्देश्य बनाइएको छ । ‘आफ्नो यात्रा विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्नुहोस्, त्यसबाट तपाईंको सुरक्षामा खतरा हुन पनि सक्छ’, ‘नागरिक विना वर्दीका प्रहरी हुन् भने प्रहरी वर्दीका नागरिक हुन’्, ‘प्रहरी तपाईंको सेवाका लागि सदा तत्पर छ, केवल तपाईंको सद्भाव र सहयोग माग्दछ’, ‘हतार गर्नु दुर्घटना निम्त्याउनु हो ’ लगायतका सन्देशहरू बोर्डमा राखिएका छन् ।

ती बोर्डहरूलाई चोक, बजार क्षेत्रमा राखिनेछ । डीएसपी कार्यालय स्थापना भएलगत्तै आएका प्रमुख गिरीले आफ्नो सक्रियता देखाएको देखिएको छ । डीएसपी सहितको ६० जनाको दरवन्दी रहने कार्यालयका लागि हालसम्म ४५ जनाको दरवन्दी रहेको छ । भवन तथा व्यारेक निर्माणका लागि नगरपालिका कार्यालयले पहल अघि बढाउने भएको छ ।