धरान / धरान उपमहानगरपालिका अन्तर्गत खेलकुद विकास समितिले प्रत्येक बर्ष गदैं आएको मेयर कप स्कुल ओलम्पिक यो बर्ष हुन सकेको छैन् । प्रतियोगिता गर्न माघ २६ गतेलाई समितिले मिति तय गरि तयारीका लागि सबै विद्यालयहरुलाई खवर गरे पनि माघ २६ गते प्रतियोगिता शुरु हुन सकेन ।
समितिले आइतबार बैठक बसी बैशाख १८ गतेदेखि प्रतियोगिता गर्ने निर्णय गरेको छ । तर बैठकमा मेयर तिलक राई भने उपस्थिति नभएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । मेयर राईले चासो नदिदा मेयर कप पछाडी धकेलिएको खेलकुद विकास समितिका संयोजक सुवास राईले बताउदैं आएका छन् । पछिल्लो बैठकमासमेत मेयर राईको उपस्थिति नहुदा बैशाखमा समेत प्रतियोगिता हुने सम्भावना कम भएको खेलकुद विकास समितिका सदस्य विकास चाम्लिङ राईले बताए ।
समितिले गत माघ १७ गते प्रतियोगिताको पूर्ण विवरण, सहभागी विद्यालयको संख्या, खेलविधा तथा गत बर्ष भएको कार्यक्रमको ढाचा उल्लेख गरि मेयर राईलाई कार्यक्रम स्वीकृतका लागि बुझाएको संयोजक सुवास राईले जानकारी दिए । तर मेयर राईले गत माघ २१ गते अर्थात प्रतियोगिता शुरु हुनु ५ दिन अघि विगतमा कसरी कार्यक्रम भएको थियो, सहभागिता के छ, बजेट कति छ, सबै तयार गरि पठाउन तोक आदेश गर्दा आफुहरु आश्चार्यमा परेको संयोजक राई बताउछन् ।
‘गत बर्ष सहभागी ५२ विद्यालयहरुले सबै तयारी पुरा गरि समितिलाई जानकारी दिइ सकेका थिए तर मेयरले कार्यक्रम स्वीकृत नगरे पछि आइतबार बैठक बसेर मिति सार्ने काम गरियो ।’–समितिका संयोजक राईले ब्लाष्ट खवरसँग भने ।

school olympic

'मेयरले चासाे देखाएनन्'
श्रोतका अनुसार मेयर राईले प्रतियोगिता संचालन गर्न इच्छा नदेखाएको बताइएको छ । खेलकुद विकास समितिमा प्रायः नेकपा सर्मपित खेलाडीहरु रहेकाले गत मंसिर १४ गते उपनिर्वाचनमा नेपाली काङ्ग्रेसबाट विजयी भई आएका मेयर राईले प्रतियोगिता गर्न अग्रसर नदेखाएकाे आरोपसमेत लागेको छ । मेयर कपको बजेट प्रतियोगिता नगरेर अन्यत्र आफ्ना कार्यकर्ता संलग्न कार्यक्रममा खर्च गर्न खोजिएको नेकपाका धरान उपमहानगर अध्यक्ष नारायण सुवेदीले आरोपसमेत लगाएका छन् । ‘विद्यालय स्तरबाट खेल विकासका लागि स्व. तारा सुब्बा मेयर हुदादेखि शुरु भएको धरानको ठूलो प्रतियोगिता रोकिनु हुदैंन् । यसले विद्यालय र खेलाडी भाई बहिनीहरुलाई नकारात्मक असर पर्छ ।’– धरान बास्केटवल संघका अध्यक्षसमेत रहेका सुवेदीले भने ।
प्रतियोगिता संचालन गर्न उपमहानगरले १९ लाख बजेट छुट्याएको छ । सहभागी विद्यालयबाट १ लाख २५ हजार रकम उठ्ने गर्दछ । स्थानीय तहमा जनप्रतिनिधि आए पछि उक्त प्रतियोगिता शुरु गरिएको थियो । यस प्रतियोगिताले विद्यालय स्तरमा खेलमा लगानी तथा विद्यार्थीहरुलाई खेलकुदमा सहभागी हुन उत्साही बनाउदैं आएको थियो ।
तयारीमा थिए विद्यालयहरु
खेलकुद विकास समितिले प्रतियोगिताको बारेमा अनौपचारिक रुपमा विद्यालयहरुलाई माघ २६ गते हुने भनेर जानकारी गराए पछि विद्यालयहरुले तयारी गरेका थिए । गत बर्ष मंसिरमै भएकाले विद्यलायहरु पनि प्रतियोगिता हुनेमा ढुक्क थिए । उपमहानगरपालिकाको कारणले समयमा हुन सकेन तर विद्यालयहरु सबै तयारी अवस्था रहेको डिपोट उच्च माविका प्रचार्य राजकुमार राईले बताए । गत बर्षको १२ वटा स्वर्णसहित जितेर पहिलो भएको डिपोटले यस पटक अतिरिक्त प्रशिक्षक राखेर १३ वटै खेल विधामा तयारी गरिरहेको उनले बताए । विद्यार्थीको खेलप्रति जागरुक बनाउने धरानको ठूलो प्रतियोगिता समयमा नहुदा तयारी अवस्थामा रहेका विद्यार्थीहरु निराश भएको प्राचार्य राईले गुनासो गरे ।
यता प्याब्सन तथा एन प्याप्सन सयुक्त समिति धरानका संयोजक तथा युरेका उच्च माविका प्रिन्सिपल राजेन्द्र गुरुङले विद्यालयहरु तयारी अवस्थामा रहेको बताए । मंसिरमा हुने प्रतियोगिता निर्वाचनले सारिएको हो । उपमहानगरको आन्तरिक व्यवस्थापनमा समय अभावले सार्न परेको नगर खेलकुद विकास समितिका सदस्यसमेत रहेका गुरुङले बताए ।
निर्णयका लागि समय अपुग भयो–मेयर राई
मेयर राईले भने समितिले पठाएको पत्र आफुले माघ २२ गते पाएको बताएका छन् । माघ २६ गते प्रतियोगिता गर्न निर्णयका लागि समय अभाव भएकोले समयमा नभएको उनले बताए । समितिको बैठकबारे आफुलाई जानकारी नभएको समेत मेयर राईले बताए । उनले भने–‘उपमहानगरपालिकाले खेलकुदको लागी एकमुष्ट बजेट छुट्याएको छ । यसमा कहाँ कति खर्च गर्ने हो भन्ने पनि त निर्णय गर्नु पर्यो नी । त्यसका लागि छलफल गर्न समय पाइएको छैन् ।’ विद्यालयहरुसंग छलफल गर्दा बैशाख उपयुत्त समय भएकोले बैशाखमा गर्ने भनिए छ । तर मेयर कपका लागी कति बजेट खर्च गर्ने भन्ने निर्णय नभएको उनले बताए । आफु प्रतियोगिता विरोधी नभएको उनले स्पष्ट पारेका छन् ।