धरान/ बलिउड फिल्म ‘मुन्ना भाइ एमबीबीएस’ को तेस्रो भाग बन्ने भएको छ ।

फिल्मका निर्माता विधु विनोद चोपडाले एक अन्तरवार्ताको क्रममा फिल्मको बारेमा बोल्दै अब आफूले यो प्रोजेक्टमै पूरा ध्यान दिने बताएका हुन् । उनले भने, ‘म साँच्चिकै मुन्ना भाइ बनाउन चाहन्छु ।

यो फिल्म (शिकारा) ले धेरै थकाइ भयो किनकि यो फिल्म मेरो मनको धेरै नजिक छ । अब म रमाइलो फिल्म बनाउन चाहन्छु । म पछिल्लो लामो समयदेखि मुन्ना भाइमा काम गर्न चाहन्थेँ र हामी अब यो चलचित्रका लागि तयार छौं ।’

फिल्मलाई राजकुमार हिरानीले नै निर्देशन गर्नेछन् र मुख्य भूमिकामा सञ्जय दत्त नै रहनेछन् । स्रोतको अनुसार फिल्मका कामहरू १० फेब्रुअरीबाट शुरु हुँदैछन् । तर यसबारे आधिकारिक जानकारी भने दिइएको छैन ।

फिल्मको पहिलो भाग ‘मुन्ना भाइ एमबीबीएस’ सन् २००३ मा आएको थियो भने दोस्रो भाग ‘लगे रहो मुन्ना भाइ’ सन् २००६ मा रिलिज भएको थियो । राजकुमार हिरानीले निर्देशन गरेको दुवै फिल्मलाई दर्शकहरूले अत्यन्त मन पराएका थिए । विधु विनोद चोपडाको निर्देशन रहेको फिल्म ‘शिकारा’ फेब्रुअरी ७ मा रिलिज हुँदैछ ।