संखुवासभा / चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले सङ्खुवासभाको किमाथाङ्का नाका बन्द गरेको छ । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै अलपत्र परेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।

सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनल ेबताए ।

भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ । “चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोला नागरिकलाई सचेत रहन आग्रह गरेका छौँ”, उनले भने । कोरोना भाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

खाद्यान्न सङ्कट हुने अवस्था

चीनले यही माघ ५ गतेदेखि किमाथाङ्का नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न सङ्कट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए । उनले भने, “हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौँ ।” सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगा बजारमा निर्भर छन् ।

किमाथाङ्का गाउँ र चीनको चाँगा बजार बीचमा रहेको कामु खोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् । सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथाङ्काका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो । भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए ।