इटहरी/ इटहरीमा १८ दिनदेखि चलेको नाटक ‘दमनको राप’ सकिएको छ । इटहरी म्याट्रिसमा चलेको उक्त नाटक सकिएको हो । नाटक हेर्न सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

२०४६ सालमा बहुदल ल्याउँदा ज्यान हत्केलामा राखेर हिँड्ने योद्धाले भोगेको दुःख त्योभन्दा बढी पीडादायक छ । २०४६ सालको जनआन्दोलनको बेलामा नेपाली युवाले भोगेको पीडा यतिबेला ‘दमनको राप’ नाटकको रूपमा इटहरीमा मञ्चन भइरहेको छ । सुनसरीका पत्रकार राजकुमार कार्कीले भोगेको सत्य घटनामा आधारित यो नाटकले जेलभित्रको यातना र कैदीको मनोभावना प्रस्तुत गर्छ । नाटक गोपाल देवानले लेखेका हुन् भने निर्देशन विक्रम श्रिले गरेका छन् ।

२०५२ सालमा प्रदर्शित उक्त नाटक त्यो बेला ३२ ठाउँमा प्रदर्शन गरिएको थियो । देश गणतन्त्रमा गइसकेको अहिलेको समयमा यो नाटकले ऐतिहासिक चलचित्र हेरे झैं अनुभूति दिलाउँछ । नाटकमा प्रयोग गरिएका संवादले दर्शकलाई अहिले पनि जुरुक्क उचाल्छ, समवेदनाले छुन्छ । नाटकलाई जीवन्त बनाउन कलाकारले निकै मेहनत गरेका छन् ।

लेखक गोपाल देवानले उक्त नाटकका मुख्य पात्र कवि तथा पत्रकार राजकुमार कार्कीको सङ्घर्ष र जेलजीवनका कथामा नाटक आधारित रहेको बताए ।

पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा संलग्न हुँदा कार्की पटक–पटक गरी पाँचवर्ष जेल बसेका थिए । उनी कविता लेखेकै कारण १२ पटकसम्म जेल परेका थिए ।

जेलमा उनले पाएको यातना र उनको तत्कालीन पारिवारिक, आर्थिक अवस्था पनि नाटकमा प्रस्तुत गरिएको देवानले बताए । इटहरी मेट्रिक्सको प्रस्तुति रहेको नाटक इटहरी, विराटनगर हुँदै प्रदेश १ का सबै जिल्लामा प्रदर्शन गर्ने योजना छ । त्यसपछि सातवटै प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेको निर्देशक विक्रम श्रिको भनाइ छ ।

नाटकमा कार्कीको प्रतिरूप अभिनय कलाकार दीपेन्द्रसिंह दर्नालले गरेका छन् । आरम्भ नाट्य डबलीको प्रस्तुति रहेको नाटकमा दर्नालका अतिरिक्त लेखक गोपाल देवान, आई.पी. भट्टराई, शान्तिराम राई, पानस गुरुङ, मौसमी कार्की, सञ्जय गिरी, प्रभात पोख्रेल, नमिता लिम्बू, कुमारप्रसाद ढुङ्गाना, अशेष तिम्सिना, दीपेन्द्र राई, कृष्ण तिम्सिना, कमानसिंह याम्फू, सविना राई, प्रकाश पोख्रेल, तीर्थ बराइलीलगायतको अभिनय छ । महानन्द पुरस्कारसमेत पाएको उक्त नाटक दुई घण्टा २० मिनेट लामो छ ।