ताप्लेजुङ/ हिमाली जिल्ला ताप्लेजुङमा दर्जनौं रमणीय र पर्यटकीय स्थान छन् । तर, प्रायः प्रचार–प्रसारका कारण ओझेलमै छन् ।

तीमध्ये सदरमुकामबाट नजिकै रहेको सिद्धिडाँडा पनि एक हो । सदरमुकाम फुङ्लिङबाट डेढ किलोमिटर दूरीमा मात्र रहे पनि सिद्धिडाँडाको यथेष्ठ प्रचार–प्रसार हुन सकेको छैन । सिद्धिडाँडामा रहेको पोखरीबाट अटुट पानी आइरहने पाँचवटा धारा, सँगै शिव मन्दिर र गुम्बा छन् । वरिपरि सुन्दर अलैंची बगान रहेकाले त्यहाँ पुगेपछि नौलो अनुभूति सँगाल्न सकिन्छ ।

‘बजारनजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी एवम् प्राकृतिक सुन्दरता यहाँका आकर्षण हुन्’ स्थानीय छत्र गुरुङले भने, ‘महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधाम एकै ठाउँमा रहेकाले धार्मिक सहिष्णुताको झल्को आउँछ ।’ यस क्षेत्रमा प्रवेश गरेलगत्तै दायाँबायाँ पोखरी देख्न सकिन्छ । पोखरीको बीचमा हिमाल आकारको ठूलो ढुङ्गा छ । ढुङ्गामाथि पानी निस्कन्छ ।

‘कृत्रिम यो दृश्य प्राकृतिकजस्तै लाग्छ’ बिदा मनाउन पाहुना र परिवारसहित पुगेका रोशन लिम्बूले भने, ‘पाहुनालाई छोटो समयमा घुमाउने उपयुक्त स्थान हो यो ।’ त्यहाँबाट ५० मिटर उकालो हिँडेपछि मन्दिर र गुम्बामा पुगिन्छ । त्यहाँ पनि तीनवटा स–साना पोखरी छन् । बस्नका लागि फलामे चौतारा बनाइएको छ ।

यो फुङ्लिङ नगरपालिका–९ मा अवस्थित यस ठाउँमा गुरुङ समुदायको बाक्लो बस्ती रहेको छ । यहाँ पुग्न फुङ्लिङ बजारबाट गाडीमा १५ मिनेट र पैदल आधाघण्टा समय लाग्छ । यहाँसम्म पहिरो छिचोल्दै कच्ची सडक पुगेको छ । सवारी साधनको नियमित पहुँच नहुँदा र पर्याप्त प्रचार–प्रसार नहुँदा पर्यटकीय सम्भावना भए पनि सिद्धिडाँडा ओझेलेमा परेको गुरुङ बताउँछन् । तर पछिल्लो समय सरकारी निकायले समेत यसको विकासमा खर्च गर्न थालेका छन् । चालू आर्थिक वर्षमा नै वडाको ४ लाख बजेटले सिँढी निर्माण गरिएको छ ।

यस्तै पर्यटन बोर्ड र जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन एकाइ विराटनगरको २०–२० लाख बजेटबाट भौतिक संरचना निर्माण तथा पोखरी संरक्षणको काम गर्ने तयारी छ । यसका लागि उपभोक्ता समिति गठन गरिसकेको सो स्थान रहेको वडा फुङ्लिङ नगरपालिका–९ का वडाध्यक्ष तारानाथ बरालले जानकारी दिए ।

‘हामीले मन्दिर परिसरमा भौतिक पूर्वाधारको निमार्णलाई निरन्तरता दिएका छौँ ।’ वडाध्यक्ष बरालले भने, ‘सबैभन्दा समस्याको विषय भनेको बाटो हो ।’ सो सडकलाई कालोपत्रे गर्नसके पाथीभरा तथा कञ्चनजङ्घा घुम्न आएका पर्यटक त्यहाँसम्म पुग्ने वडाध्यक्षको विश्वास छ । सो सडक कालोपत्रेका लागि गत वर्ष नै डिपिआरसमेत भइसकेको छ ।

गत आर्थिक वर्षमा पनि सो सडकका लागि करिब डेढ करोड बजेट विनियोजन भएको थियो । तर त्यो रकम त्यसै फ्रिज भएको थियो । ‘सडकको डिपीआर पनि भइसकेको छ । सडक निर्माणका लागि प्रदेश सरकारसँग पनि पहल गरिरहेका छौँ’ –वडाध्यक्ष बरालले भने ।
–वसन्त लिम्बू