१८ वर्षीया गायिका बिली आइलिसले सन् २०२० को ग्रामी अवार्डमा नयाँ इतिहास रच्न सफल भएकी छन् ।
अमेरिकी गायिका बिलीले ग्रामी अवार्डमा शीर्ष चार अवार्ड हात पार्न सफल भएकी हुन् । उनले उत्कृष्ट नयाँ कलाकार, वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम् र वर्षको उत्कृष्ट गीतको विधामा अवार्ड हात पारिन् । उनले उत्कृष्ट पप भोकल एल्बम्को अवार्ड हात पार्दै पाँचवटा ग्रामी जित्न सफल भइन् । वर्षको उत्कृष्ट एल्बम्को अवार्ड हात पार्ने उनी सबैभन्दा कम उमेरकी एकल कलाकार हुन् । यसअघि टेलर स्वीफ्टले २० वर्षको उमेरमा ‘फियरलेस’ एल्बम्बाट यो अवार्ड जितेकी थिइन् ।

एल्बम् अफ द इयर अवार्डका लागि उनले बन आइभर, लाना डेल रे, आरियाना ग्राण्डे, हर, लिल नास एक्स, लिजो र भ्याम्पायर विकएण्डलाई पछि पारिन् । अवार्ड जित्दा बिली आफै छक्क थिइन् । ‘के म भन्न सक्छु कि यसका लागि आरियाना हकदार थिइन् ?’ –उनले प्रश्न गरेकी थिइन् ।

उनी एकैपटक वर्षको उत्कृष्ट रेकर्ड, वर्षको उत्कृष्ट एल्बम्, वर्षको उत्कृष्ट गीत र उत्कृष्ट नयाँ कलाकारको अवार्ड हात पार्ने महिला र समग्रमा दोस्रो कलाकार बनिन् । यसअघि सन् १९८१ मा क्रिस्टोफर क्रसले यो सफलता हात पारेका थिए । अडेलले पनि सबै चारवटा ट्रफी जितेकी छन् तर उनलाई यो सफलता हात पार्न तीन वर्ष लाग्यो ।

लिल नास एक्सले उत्कृष्ट म्युजिक भिडियो र उत्कृष्ट पप डुओ–ग्रुप पर्फर्मेन्सका लागि ग्रामी जिते । उत्कृष्ट ¥याप एल्बम्को अवार्ड टाइलरले जिते भने लिजोले उत्कृष्ट पप–सोलो पर्फर्मेन्सको अवार्ड हात पारे । उत्कृष्ट आर एण्ड बी एल्बम् एण्डरसनले जिते । उत्कृष्ट रक एल्बम् केज द एलिफेण्टले जिते भने उत्कृष्ट रकम पर्फर्मेन्स र रक गीतको उपाधि ग¥याकी क्लार्क जुनियरले जिते ।