धरान / पूर्वमा सक्रिय गायकका रूपमा चिनिन्छन्, प्रशान्त शर्मा ।
उनले गाएको ‘म एक पन्छी हुँ, मलाई उड्न देऊ’ बोलको गीतले धेरै सङ्गीतप्रेमीको मन जितेको छ । उनी विभिन्न ब्याण्डमा काम गर्दै हाल ब्याण्ड र ब्याण्डबाहिर पनि गाइरहेका छन् । उनी हाल धरानको होटल गजुर प्यालेसका ब्राण्ड एम्बास्डर पनि हुन् ।

प्रशान्तको घरमै साङ्गीतिक माहोल थियो । उनकी आमा कवि तथा पूर्वसांसद् कुन्ता शर्मा पनि कविता लेख्ने, गीत गाउने र सुन्ने गर्थिन् । दाजुहरू सृजन र रोशन पनि सङ्गीत क्षेत्रमै सक्रिय भएकाले पनि प्रशान्तलाई यो क्षेत्रमा आउन सहज भयो ।

घरमा मात्र होइन, प्रशान्त मामाघर पुग्दा पनि साङ्गीतिक माहोल पाउँथे । उनका मामा किशोरकुमारका गीतहरू खुब सुन्थे । प्रशान्तले पनि त्यहीँ धेरै गीतहरू सुने र बुझे । पछि दाजु सृजनसँग विभिन्न गायकका गीतहरू सुने । त्यसपछि उनलाई पनि गितार बजाउन मन लाग्यो । पछि दुवै दाजुहरूसँग अलिअलि गर्दै बजाउन सिके ।

एसएलसीपछि काठमाडौं पुगेका प्रशान्तको उतै एउटा साङ्गीतिक सर्कल बन्यो । त्यहीँका साथीहरूसँग मिलेर भूमि ब्याण्ड स्थापना गरे । २०५६÷५७ सालतिर उनले त्यही ब्याण्डमार्फत् ‘तिम्रो मायाको सागरमा’ गीत पनि रेकर्ड गराए । ब्याण्ड पपुलर बनिरहेको थियो । तर उनी लागूऔषधमा फसे ।

लागूऔषधबाट बाहिर निस्कन उनलाई निक्कै समय लाग्यो । लागूऔषधमुक्त बनेपछि उनी पुनः सङ्गीतमै लागे । उनले डिसेवल, जङ्गे लगायत विभिन्न ब्याण्डसँग मिलेर काम गरे । २०७० देखि उनी धरानकै ‘द आउटसाइडर’ ब्याण्डमा आबद्ध भए । उनले पहिला गाएको गीत ‘पन्छी’ ब्याण्डकै गीत बनाएर गाए । तर ब्याण्डमा लामो समय उनको सहकार्य हुन सकेन । चार वर्षपछि ब्याण्ड छाडेका उनले आफ्नै माइला दाजु रोशनहरूसँग मिलेर ऊर्जा नेपाल ब्याण्ड स्थापना गरे । अहिले उनी त्यही ब्याण्डमा पनि काम गरिरहेका छन् । त्यसबाहेक उनी गिरिस खतिवडा, गङ्गा वरदानलगायतसँग मिलेर पनि गीत–सङ्गीत गरिरहेका छन् ।

धरानमै रहेर सङ्गीतकर्म गरिरहेका प्रशान्तलाई धरानको होटल गजुर प्यालेसले हालै ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रशान्त ६ महिनाका लागि ब्राण्ड एम्बास्डर नियुक्त भएको होटल गजुर प्यालेसका सञ्चालक गोपाल आचार्य बताउँछन् । प्रशान्तसँगै होटलले कोरियोग्राफर मेरिना तुम्सालाई पनि ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।