भद्रपुर /  एउटा जङ्गली हात्ती मरेर सडेको अवस्थामा फेला परेको छ । कचनकवल ३ स्थित अभिमुक्तेश्वर सामुदायिक वन भित्र आइतबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

करिब एक महिना अघि हात्ती मरेको हुनसक्ने जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । १२ फिट लम्बाइ,८ फिट २ इन्च उचाइ भएको अन्दाजी ३० वर्ष उमेर भन्दा माथि रहेको डिभिजन वनका कर्मचारी डिल्लीराम खरेलले जानकारी दिए । शनिवार बेलुका दाउरा टिप्न गएका स्थानीयले जङ्गलमा मृत अवस्थामा हात्ती देखेपछि सामुदायिक वन समितिका पदाधिकारीलाई जानकारी गराएको समितिका अध्यक्ष गिरीराज नेपालले जानकारी दिए ।
हात्ती आफै मरेको वा मारिएको विषयमा अहिले केही भन्न नमिल्ने र यस विषयमा अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । हात्तीको दारा छैन, हात्तीको छाला र हड्डी परीक्षणका लागि विधि परीक्षण प्रयोगशाला पठाउने जनाइएको छ । परीक्षण रिपोर्ट आएपछि मात्र केही भन्न मिल्ने उनको भनाई छ । हात्तीको हड्डी भएको टाउको भाग वन कार्यालय ल्याएको र मृतक हात्तीलाई त्यही पुरिदिएको उनले बताए ।
७० प्रतिशत भन्दा बढी सडेका कारण लिङ्ग नछुटिएको उनले जानकारी दिए । हात्तीलाइ सोही स्थानमा खाल्डो खनेर गाडीएको उनले बताए । जलथल जङ्गलमा आठ महिना अघि पनि एउटा छावा जङ्गली हात्तीको मृत्यु भएको थियो ।
साबिक जलथल गाविस १ हाल हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भएको थियो । २०६७ सालदेखि हालसम्म झापामा १२ वटा जङ्गली हात्तीको मृत्यु भइसकेको कार्यालयले जनाएको छ ।