धरान । खानेपानी माग्दै आन्दोलित धरान–९ का जनप्रतिनिधि सम्मिलित खानेपानी सङ्घर्ष समितिले बुधबारबाट आन्दोलन स्थगित गरेको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले खानेपानी व्यवस्थापन बोर्डमार्फत् सहज रूपमा खानेपानी वितरण गर्ने आश्वासन दिएपछि माघ २ गतेदेखि जारी धर्नासहितको आन्दोलन फिर्ता भएको हो । नगर प्रमुख राईले नेपाल खानेपानी संस्थान धरान शाखाको सम्पत्ति दायित्व, जिम्मेवारी हस्तान्तरणको चरणमा रहेकाले अब स्थानीय तहले नै खुवाउने भएकाले पानी वितरणमा सहज बनाइने प्रतिवद्धता गरे ।

प्रतिवद्धतापछि नै आन्दोलनमा सहभागी बनिरहेको वडाध्यक्षसमेत रहेका खानेपानी सङ्घर्ष समितिका संयोजक रत्न कट्वालले आन्दोलन स्थगित गरिएको बताए । उनले वडाबासीलाई जसरी भए पनि पानी खुवाउनुपर्ने बताए । उनले आश्वासन यथार्थमा परिणत हुनुपर्ने बताए ।

बोर्डले पानी खुवाउन नसकेमा त्यसका विरुद्ध पनि आन्दोलनमा जाने उनले चेतावनी दिए । धरान ९ मा ५ सय ५५ घरधुरी रहेका छन् । उनीहरूमध्ये कतिपयले बोर्डमार्फत् पानी खाँदै आएका थिए भने कतिपयले संस्थानमार्फत् पानी खाँदै आएका छन् । सुख्खामौसम शुरु भएसँगै धरानमा हरेक वर्ष पानीको हाहाकार हुने गरेको छ ।