धरान/ उत्तरवर्ती साहित्यिक आन्दोलनका मुख्य प्रवर्तक साहित्यकार कवि राज माङ्लाकलाई पाँचथरको समथिङ फाउण्डेशन नेपालले ५५ हजार ५ सय ८० रुपैयाँको समथिङ राष्ट्रिय साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ ।

फाउण्डेशनले आइतबार पुरस्कारको घोषणा गरेको हो । ५० को दशकदेखि फुटकर कविता लेख्दै आएका कवि माङ्लाकको पछिल्लो कविता सङ्ग्रह ‘लिम्बुनी गाउँ’ मदन पुरस्कार र पहिचान पुरस्कारका लागि छनोटको अन्तिम पाँचमा परेको थियो । उनले यसअघि ‘धुवाँका धुनहरू’ खोजमूलक अनुसन्धान ‘पाँचथरका स्रष्टा र सिर्जना’ लिम्बू भाषाको कविता सङ्ग्रह ‘येमले कुनाराहा’ (समयका प्रतिबिम्बहरू)’ सम्पादन ‘लिम्बू कविता भाग १’ कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन् ।

पाँचथरको आङ्नामा स्थायी घर भए पनि पछिल्लो समयमा धरानलाई साहित्यिक कर्मथलो र धनकुटाको जेफालेस्थित चौकी भञ्ज्याङको एक उच्चमाविलाई शैक्षिक प्राध्यापन थलो बनाएर साहित्यमा सक्रिय रहेका छन् । फाउण्डेशनका अध्यक्ष मङ्गल बेघाले भने, ‘नेपाली साहित्यजगत्मा कवि माङ्लाकले अनवरत दिएको योगदानको कदर गर्दै यो वर्षको समथिङ राष्ट्रिय साहित्यिक पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।’

फाउण्डेशनले प्रत्येक दुई वर्षमा ५५ हजार ५ सय ८० रुपैयाँसहित समथिङ साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । पूर्वेली बिम्ब र पहिचानमा आधारित लेखन अनुसन्धान गर्दै सीमान्तीकृत किनारी कृत समुदायको पक्षमा कविता रचना गर्दै आएका माङ्लाकलाई फाउण्डेशनले पाँचथरको फिदिममा यही माघ २९ गते विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गर्ने बेघाले बताए ।

फाउण्डेशनले उक्त अवसरमा ५ हजार ५ सय ८० रुपैयाँ राशिको समथिङ राष्ट्रिय सम्मान पाँचथर सुभाङकी लेखिका विद्या निर्दोषी ओझालाई पनि जनाएको छ । मोफसलका साहित्यकारहरूलाई पुरस्कार प्रदान गर्ने उद्देश्यले पाँचथरका साहित्यकार रामप्रकाश समथिङले समथिङ फाउण्डेशन नेपाल स्थापना गरेका हुन् ।