दमक/ दमक नगरपालिकाले नगरमा सञ्चालन भइ रहेका योजनाहरूको अनुगमन गर्न भन्दै शनिबार एक समूहलाई आफ्ना सवारी साधनमा चढाएर लग्यो । जनप्रतिनिधि, कर्मचारी, विभिन्न दलका नेता, सङ्घ–संस्थाका प्रतिनिधिहरूलाई नगरपालिकामा भेला गराएर चिया खाजा खुवाई निर्माणाधीन नगरका योजनास्थलमा लगेको हो ।

नगरपालिकाको कार्यालयबाट पशुहाटमा केही महिना अघिमात्र आफ्नै वडा कार्यालयमा पुगेको वडा नं. ७ को कार्यालयमा त्यो टोली पुग्यो । टोलीले वडाको आमदानी हे¥यो । केही खाता र विवरण हेरेर कार्यालयबाट बाहिर निस्कियो । त्यसपछि पुग्यो रेडक्रससँगै जोडिएको प्रस्तावित रोज गार्डेन निर्माणस्थल । अघिल्लो वर्षको अङ्ग्रेजी महिना फेब्रुअरी १४ मा सञ्चालनमा ल्याउने गरी २ वर्षअघि शिलान्यास गरिएको रोज गार्डेनको अनुगमन भयो ।

१ वर्षमै सक्ने भनेको काम २ वर्ष बित्दा पनि सम्पन्न भएको थिएन । १ करोड १० लाख बजेटमा बन्ने गार्डेनमा केही टिपर बालुवा तथा अन्य पुर्न प्रयोग हुने सामग्रीबाहेक अन्य केही पनि हालिएको थिएन । त्यसमा ३० लाख खर्च भइसकेको छ भन्ने कुरा त्यो टोलीले सुन्यो र त्यहाँबाट फर्कियो । तर त्यो ३० लाखमा के के काम भयो, त्यो ३० लाखमा हुनुपर्ने काम त्यति नै थियो कि अरू पनि हुन सक्थ्यो भन्नेबारेमा गहिरिएर बुझ्न भने चाहेन । त्यहाँ भएको कामका बारेमा नगरपालिकाकै इञ्जिनियर तीर्थ श्रेष्ठले बताए । सोही कुरालाई मानेर नगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली त्यहाँबाट फर्कियो ।

त्यसपछि वडा नं. ७ का वडाध्यक्ष भीम पौडेलले आफ्नो वडामा भएका अन्य पूर्वाधारका काम हुँदै गरेका ठाउँहरू देखाए । उनले हनुमान मन्दिर दक्षिण सयपत्री टोलभन्दा पश्चिममा पर्ने केही बाटोको कामहरू देखाए । ती बाटाहरू ग्राभेल हुँदै गरेको र आगामी आर्थिक वर्षमा कालोपत्रे गर्ने योजना रहेको उनले टोलीलाई सुनाए ।

त्यहाँ भएको काममा नागरिकले ६० प्रतिशत र ४० प्रतिशत नगरपालिकाको बजेट रहेको भन्दै उनले आगामी वर्ष पनि सोही अनुसारकै काम गर्ने उल्लेख गरे । तर उनले बनाएको बाटो मापदण्डअनुसारकै छ–छैन भन्ने बारेमा न टोलीमै सहभागी नगरपालिकाका इञ्जिनियर श्रेष्ठले नै परीक्षण गरे, न त नगरप्रमुखले यो बाटो मापदण्डकै आधारमा बनेको छ भन्नेमा ढुक्क भएर राम्रो छ भन्न नै सके । त्यसपछि वडाध्यक्ष पौडेलले सिद्धार्थ बोर्डिङ स्कुल रहेको ठाउँमा लगेर देखाए ।

जहाँ रहेको रातो होलीमा खोलामाथि नै घर बनाइएको थियो । रातो होली रहेको सो ठाउँको पूर्वपट्टि सिद्धार्थ बोर्डिङले पक्की संरचना बनाएर खोला नै ‘गायब’ पारेको छ भने पश्चिमपट्टि एक जना व्यक्तिको घर छ । लाम्चो आकारको घरले त्यहाँ बाह्रैमास बग्ने रातो होलीको अस्तित्व नै गुमानाम पारिदिएको छ । यो अवस्थाका बारेमा नगरपालिकालाई पहिल्यै पनि थाहा थियो तर संरचना बनाउने ती पक्षहरूले आफ्नो संरचना हटाएका थिएनन् । अझैसम्म संरचना नहटाएपछि नगरप्रमुख रोमनाथ ओलीले नगरपालिकाबाट आधिकारिक पत्र पठाएर संरचना भत्काउन आग्रह गर्ने बताए ।

निश्चित समायवधि दिएर भत्काउन आग्रह गर्दा पनि नभत्काए नगरपालिकाको संयन्त्र आएर आफै भत्काइदिने उद्घोष गरेका छन् । तर उनले ती संरचना भत्काउने उद्घोष त गरे ती संरचना अवैध नै हुन् भन्ने कुरा अनुगमन गर्दै गर्दा पनि प्रमाणित गर्न चाहिँ सकेनन् ।

आँखाले हेरेका भरमा मात्र अनुगमन गरियो
त्यसपछि अन्य विभिन्न बाटाहरूको कामको अवलोकन मात्र गर्दै हिँडियो । तर अनुगमन भने कहीँ पनि हुन सकेन । दमक–१ मा अन्तिम चरणमा रहेको नमूना बस्ती, दमक–३ मा निर्माणाधीन भ्यू टावरलगायतका योजनाको पनि अवलोकन मात्र गरियो । अवलोकनको कामलाई आइतबार पनि निरन्तरता दिइने जनाइएको छ ।