वराहक्षेत्र/उदयपुरको चौदण्डीगढी नगरपालिकामा अटोरिक्सा (टेम्पो) दुर्घटना हुँदा खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका–१ का वडासदस्य गणेश खड्काको ज्यान गएको छ ।
चौदण्डीगढीको बेलटारबाट घरतर्फ जाँदै गर्दा वंशीलालघाटमा शुक्रबार राति भएको दुर्घटनामा ४० वर्षीय सदस्य खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारका इन्स्पेक्टर बुद्धिराम चौंलागाईंले बताए ।
आफैले चलाएको स.१ ह ३२३७ नम्बरको टेम्पो राति करिब १० बजे दुर्घटनामा परेको सूचना पाएपछि गएको प्रहरीले उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेको थियो ।
बेलटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उनको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको इन्स्पेक्टर चौंलागाईंले बताए । मृतक खड्का जन्तेढुङ्गा–१ बाट तत्कालीन नेकपा माओवादीबाट वडासदस्यमा निर्वाचित भएका थिए ।































