सङ्खुवासभा/ पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलपम्पबाट तोकेको भन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा सङ्खुवासभामा एक जना विरुद्ध कालो बजारीको मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यशोदा आयल सेण्टरका सञ्चालक उत्तम कटुवाल विरुद्ध कालोबजारीको मुद्दा चलाएको हो ।

नेपाल आयल निगम लिमिटेडले समायोजन गराएको मूल्यबारे मातहतका निकायमा तोकेको मूल्यभन्दा बढी लिएपछि उनलाई स्थानीय प्रशासनले मुद्दा चलाएको हो । उनले पुस १७ मा डिलर्स एसोसिएसन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको प्रशासनको आरोप छ । पम्पले डिलर्स एसोसिएसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिएको गुनासो उपभोक्ताले गरेपछि प्रशासनले कटुवाल विरुद्ध कालोबजारीको मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।

‘उपभोक्तासँग डिजेल र पेट्रोलमा २५ पैसा बढी असुलेको पत्ता लागेपछि नियन्त्रणमा लिएर मुद्दा चलाएका हौं’ उनले भने, ‘वास्तविक मूल्यभन्दा बढी मूल्यमा बिक्री गरिएको जनगुनासो चुलिएको छ ।’ पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गत पुस १७ मा जारी भएको मूल्यअनुसार १ सय १४ रुपैयाँ ६५ पैसामा बिक्री गर्नुपर्ने पेट्रोल र डिजेल १ सय ३ रुपैयाँ ६५ पैसामा बिक्री गर्नु पर्नेछ । तर, कटुवालले पेट्रोल १ सय १४ रुपैयाँ ९० पैसा र डिजेलमा प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएको उपभोक्ताको दाबी छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन विराटनगरले तोकेको मूल्यको पर्वाह नगरी बढी मूल्यमा बिक्री गरेपछि प्रशासनले कटुवाललाई कालोबजारीको मुद्दा चलाएको हो । यशोधा आयलका सञ्चालक कटुवालले भने मूल्य समायोजन गरिएको बारे आफूलाई ढिलो जानकारी भएकाले भूलवस बढीमा बिक्री गरिएको दाबी गरे । ‘डिलर्स एसोसिएसनले ढिलो गरेर पत्राचार गर्दा यस्तो भएको हो’ उनले भने, ‘हामीले नियतवश बढी मूल्यमा बिक्री गरेका होइनौं ।’

कटुवाललाई ३ वर्षअघि पनि पेट्रोलियम पदार्थमा मूल्य बढी लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो । जिल्लामा भएका अन्य ३ वटा पम्पमा भने निर्धारण गरिएको मूल्यमा बिक्री गरेको पाइएको छ । पेट्रोलियम डिलर्स एसोसिएसन विराटनगरले कोशी अञ्चलभरि उसका मातहतका निकायमा नयाँ मूल्यसूची पुस १७ गतेको बैठकपछि पठाइसकेको जनायो ।