०६७/६८ मा दक्षिणपूर्वी मोरङको इटहरामा ‘रेडियो सुनाखरी’ शुरु भएको थियो । त्यो बेला उर्लाबारी, पथरी, बेलाबारीतिर एफएम रेडियो खुलिसकेका थिएनन् । पूर्वपश्चिम मुख्य सडकको उर्लाबारीबाट १५ किलोमिटर दक्षिणमा पर्छ इटहरा चोक ।

त्यसको उत्तर भौंडामा खुलेको त्यो रेडियोमा म पनि आबद्ध थिएँ समाचार सम्पादकको हिसाबले । सर्जक युवराज पौडेलको हुटहुटीमा रेडियो खुल्यो, म पनि त्यहाँ जोडिएँ । बिल्कुलै गाउँमा राम्रै रकम सङ्कलन गरेर ४ तले भवन नै बनाएर रेडियो शुरु गरेको देशमा सायदै कम सङ्ख्या होला । ग्रामीण क्षेत्रमा त विरलै होला यो खाले काम । धाउन टाढा समेत भएकाले लामो समय मैले काम गरिन । त्यहाँ मिडिया क्रेजमा आउनेहरुले रेडियोको बारेमा सिके । अर्थात् त्यहाँ काम गर्नेहरु अन्यत्र गएर पनि रेडियोमा व्यावसायिक भएका छन् । मिलन गजतराज, मुना तामाङ, सुस्मा नेपाली, सुमन कार्की, सुमन घिमिरे, कल्पना दहाल सहित १ दर्जनको सङ्ख्या रेडियोको प्राविधिक पक्ष समेत सिकेर कार्यक्रम प्रस्तोताका रुपमा व्यावसायिक छन् । तीमध्येमा पनि २७ वर्षीय सुमन कार्कीको चर्चा देशभरि छ यतिबेला ।

शुरुमा रेडियोमा प्रवेश गरेर कार्यक्रम चलाउन सिकेका उनी हाँस्यव्यङ्ग्य प्रस्तुतिमा पनि इच्छुक थिए । रेडियो सहित हास्यव्यङ्ग्य क्षेत्रमा केही गर्ने उत्कट अभिलाषा बोकेका उनी अध्ययनको समेत सन्दर्भ बनाएर काठमाडौं छिरे । बाहिर त्यति देखाइ नहाले पनि उनीभित्रको कला पक्ष निकै शक्तिशाली सम्भावनाको थियो । उनको सिक्न खोज्ने बानी र मेहनतले उनलाई छोटै समयमा काठमाडौंमा हास्यव्यङ्ग्य क्षेत्रमा सम्भावना बोकेको युवकको रुपमा उभ्यायो ।

बौद्धिक प्रस्तुतिमा जोड दिने ख्यातिप्राप्त हास्यकलाकार मनोज गजुरेलसँग मात्र होइन हास्य क्षेत्रका देशका अगुवा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठसँग समेत उनले आफ्नो प्रस्तुतिको यात्रा अघि बढाउन पाए । उनका यी सबै गतिविधि नियालीरहेको अवस्थामा पछिल्लो पटक उनी झनै बढी चिनिने अवसर पाए नेपालकै पहिलो रियालिटी कमेडी शो ‘कमेडी च्याम्पियन’ बाट । कान्तिपुर टेलिभिजनबाट प्रशारण भइरहेको त्यो शोमा पनि उनको विषयवस्तु, त्यसमाथिको गहनता केलाएर गर्ने प्रस्तुति प्रभावकारी छ । उनी उत्कृष्ट ६ सम्म उक्लिसकेका छन् । गाउँबाट शुरु भएको अनि एउटा रेडियोको प्लेटफर्ममार्फत् सृजना क्षेत्रमा अघि बढेका उनको सृजनशीलतामा बढेको उचाइ देखेर म पनि निकै खुशी भइरहेको छु ।

इटहरा अहिले रतुवामाई नगरपालिकामा पर्छ । उनको ९ नम्बर वडाको अझ ग्रामीण बस्तीमा छ घर । ओखलढुङ्गामा जन्मिएका उनको परिवारमा कोही पनि कला क्षेत्रमा थिएनन् । तर, उनभित्र रहेको सृजनशीलताले रेडियो हुँदै ०७२ मा काठमाडौं छिरेपछि मजाले प्रस्फुटित हुन पायो । मानविकीमा स्नातकोत्तर गर्न र आपूmभित्रको कला क्षेत्रको विस्तार गर्ने प्रयासमा काठमाडौं छिरेपछि हास्यव्यङ्ग्य कार्यक्रम मात्र सञ्चालन गर्ने ‘रेडियो अडियो’मा काम पाए ।

त्यहाँ हाँस्यकलाकारहरु दीपाश्री निरौला, जीतु नेपाल, दमन रुपाखेती, राजा राजेन्द्रहरुले कार्यक्रम सञ्चालन गर्दा सुमन पनि उनीहरुको सङ्गतसँग जोडिए । अनि उनको प्रतिभाले स्टेज कार्यक्रमहरुमा समेत प्रस्तुत हुन पायो । हुँदै जाँदा डेढ वर्ष अघि हरिवंश आचार्यको ‘हरिबहादुर’ उपन्यासको नेपाल यात्रामा उनी पनि सामेल हुन पाए । जसबाट हरिवंशको नजरमा पनि उनी सम्भावना भएको युवाको रुपमा परे । हास्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’मा पनि ३ भाग अभिनय गरे । तर, उनी स्टेज कार्यक्रमतिरै बढी केन्द्रित भएर जम्न थाले । हास्यव्यङ्ग्य युट्युब च्यानल ‘फर्सी नेटवर्क’ मा पनि कार्यक्रम चलाए । पछिल्लो समय प्रदेश प्रदेशको गाइजात्रा कार्यक्रममा सातै प्रदेशमा नक्कली ऋषि धमला भएर गरेको प्रस्तुतिले उनलाई चिनायो । ऋषिकै क्यारिकेचर गरेर सुबोध गौतमसँग मिलेर बनाएको ‘जनता हान्न चाहन्छन्’ ले उनलाई झनै उठायो ।

हुँदै जाँदा समसामयिक विषयमा घतलाग्दो प्रस्तुति दिने सुमनले ‘कमेडी च्याम्पियन’ श्रमिक र निमुखाहरुको पक्षमा आपूmलाई उभ्याउने गरेका प्रस्तुतिले सबैको मन छोएको छ । बसका सहचालकका दुःख, ड्यूटीमा ट्राफिक प्रहरीले व्यहोर्नु परेको भुक्तमान जस्ता प्रस्तुतिले दर्शकदीर्घालाई प्रभाव छोडेको छ । पत्रकार ऋषि धमलाको क्यारिकेचरमा आफूलाई दुरुस्तै ढाल्न सक्ने उनको खुबी छ । कमेडीयनकै कमेडी उतार्न पनि उनी सिपालु छन् ।

जस्तो कि चर्चित हास्य कलाकार विल्सनविक्रम राई तोक्मे बुढाको भूमिकामा पनि उनी फिट छन् । यसबाहेक देश विदेशका चर्चित व्यक्तिका हाउभाउ र बोलीलाई पनि हुबहु बनाउनु उनको अर्को विशेषता हो । अध्ययन, मेहनत र इमान्दारिताका साथ अघि बढ्यो भने आफूभित्रको सृजनशीलताले पनि सही बाटोमा अघि बढाउन सक्छ भन्ने एउटा उदाहरण बनेका छन् सुमन। गाउँघरमा सुमन जस्ता सुगन्धित सुमनहरु फक्रिने प्रतिक्षामा छन् । यस्ता सम्भावना बोकेका सुमनहरुका सृजनशीलताले देश फूल्ने ‘सुमन’ (फूल) सृजना गर्न सक्छ । पहरामा फूल्ने तर ज्यादै सुन्दर फूल्ने सुनाखरीसँग जोडिएर अघि बढेको सृजनशील यात्राले सुमनलाई पनि सुनाखरी बनाइरहोस्, शुभकामना ।