लहान / प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिकामा जारी छोरी शिक्षा बिमा सप्ताहको पहिलो दिनमै ५५ जनाको बिमा गरिएको छ ।
वि.सं २०७५ माघ २ पछि जन्मेका सबै छोरीको बिमा गर्न सिरहाको कल्याणपुरमा जारी छोरी बिमा सप्ताह शिविरको पहिलो दिन बिहीबार मात्रै ५५ को बिमा गरिएको जनाइएको छ । नगरपालिकास्थित रेडक्रस भवनमा भइरहेको सप्ताहको दोस्रो दिन आज पनि बिमा गराउन छोरीलाई काखमा च्यापेर शिविरस्थलमा अभिभावकको घुइँचो लागेको सामाजिक सुरक्षा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए ।

शिविरको प्रदेशका आर्थिक मामिलामन्त्री विजयकुमार यादवले उद्घाटन गरेका थिए । छोरा र छोरीबीच हुने विभेदलाई अन्त्य गर्दै छोरीको शिक्षामा पहुँच पु¥याउने उद्देश्यले सञ्चालित छोरी बिमा सप्ताह शिविरमा वि.सं २०७५ साल माघ २ गतेपछि प्रदेशमा जन्मिएका सबै छोरीको सबै कागजात पूरा गरी शिविरमै बिमा गरिने जनाइएको छ ।