बेलबारी / भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्न बेतनामा सफी फाइन आर्ट ग्यालरी बेलबारीद्वारा आयोजित एक दिने कविता कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
‘कला संस्कृति हाम्रो पहिचान, मौलिक संस्कृति देशको शान’ भन्ने नाराका साथ ग्यालरीले कार्यक्रमको आयोजना गरेको हो । प्रवासमा रहेर नेपाली साहित्यको क्षेत्रमा समर्पित गणेश घिमिर र पूर्वका चर्चित साहित्यकार मुकुन्द प्रयासले रचना वाचन गरेका थिए । घिमिरेले प्रवासको दशैं, स्वेच्छिक मृत्युलगायतका रचना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार तथा बेलबारीका उपमेयर ढाकाकुमारी पराजुली, इरान राईलगायतले बेलबारी साहित्यिक पदयात्रामा अनवरत रूपमा लागेको बताउँदै शुभकामना मन्तव्य राखेका थिए । स्रष्टा शिवछाङ्छा राईले स्वेच्छिक मृत्युको चित्र तयार पारेर प्रदर्शन गरेका थिए । कार्यक्रम जेबी थुलुङको सञ्चालन तथा गणेश लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।