ताप्लेजुङ / ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ को एउटा उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताले आफूले पाउने पारिश्रमिक बापतको रकम आफ्नो वडा कार्यालयलाई सहयोग गरेका छन् ।
गणेश दाहाल अध्यक्ष र टिकेन्द्र नेपाली सचिव रहेको पराजुली चोक–नाकधारा हुँदै रामकुमार मादेनको घरसम्मको पदमार्ग निर्माणको क्रममा आफ्नो श्रम कटाएर वडालाई ४१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

अध्यक्ष दाहाल र सचिव नेपालीले आफ्नो वडा कार्यालयले स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गा खरिद गर्नुपर्ने र त्यसका लागि रकम सङ्कलन गर्नुपर्ने भएपछि आफूहरूले सहयोग गरेको बताए । उक्त रकमको चेक शुक्रबार वडाध्यक्ष भीमादेवी ओझालाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा वडासदस्यलगायतले धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा वडाध्यक्ष ओझाले सम्पूर्ण वडावासी र अन्य वडाका समेत मनकारीलाई सहयोगका लागि अपिल गरिन् । जग्गा खरिदमा सरकारी रकम लगाउन नपाइने तर सदरमुकामभित्रको सबै जग्गा निःशुल्क पाउन कठिन भएकाले सहयोग सङ्कलन गर्नुपरेको ओझाले बताइन् । पदमार्ग निर्माणको क्रममा यसअघि दाताहरूले पनि सहयोग गरेका थिए ।