सङ्खुवासभा / पैसा अभावकै कारण उपचार हुने रोग पनि पेवा बनाएर बस्नु पर्ने बाध्यता एकाधबाहेकलाई आज पनि छ ।
सामान्य उपचार गराउनसमेत समस्या हुने परिवारलाई अपरेसन गर्नुपर्ने रोगले गाँजेपछि रोग पाल्नुबाहेक अर्को विकल्प पनि छैन । पढ्ने उमेरमा रोगले थलिएर बसेका सङ्खुवासभा पाँचखपन–३ माक्सुवाका अर्जुन कार्की मुटुका रोगी छन् । १२ वर्षीय अर्जुन कक्षा ४ का प्रथम विद्यार्थी हुन् । ठूलो भएर डाक्टर बन्ने सपना बुनेका उनी उपचार अभावमा छन् ।
जायजेथा बेचेर उपचारमा काठमाडौं लगेका अर्जुनको मुटुमा ३ वटा प्वाल रहेको चिकित्सकले उनका आमा कमलालाई जानकारी दिएका छन् । तर उपचारका लागि खर्च अभावले अर्जुनलाई घर फर्काइएको छ । मङ्सिर २१ गते उपचारमा आउनू भनेर शहीद गङ्गालाल अस्पताल काठमाडौंले सल्लाह दिएको थियो । तर ३ लाख बढी रकम जोहो गर्न नसकेपछि अस्पतालले दिएको स्लिप च्यापेर अर्जुनका परिवार घर फर्किएका छन् । उपचार खर्च उपलब्ध गराउन नसक्दा दिनदिनै रोग पालेर पीडामा बसेका छोराको अनुहार हेरेर बसिरहेका छन्, अर्जुनका परिवार ।
आशाको दियो बनेर आएको पहिलो सन्तानलाई सानैमा मुटु रोगले च्यापेपछि छोरालाई पढाएर ठूलो मान्छे बनाउने बाबु आमाको सपना कमजोर बन्दै गइरहेको छ । मुटुको अपरेसन गर्नुपर्ने भएकोले अपरेसन खर्च जुटाउन नसक्दा अर्जुनका बाबुआमाले सबैसँग सहयोगको याचना गरिरहेका छन् ।































