ब्लाष्टखबर । विश्वकै होचा व्यक्ति खगेन्द्र थापामगरको निधन भएको छ । शुक्रबार दिउँसो मणिपाल शिक्षण अस्पताल पोखरामा २८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति १२ बजे मगरलाई अस्पताल भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना भएका थापा मगरलाइ शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए ।

खगेन्द्रमा मुटुको समस्या थियो । स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए ।

खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो । २०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए ।

थापा १६ वर्षको उमेरदेखि पोखरा सिर्जना चोकमा बस्दै आएका थिए । रूपबहादुर थापामगर र धनमाया थापामगरबाट खगेन्द्रको धुल्लुबासकोट ६ मा १८ असोज २०४९ मा जन्म भएको थियो । जन्म भएको बेला खगेन्द्र मात्र ६०० ग्रामका थिए । उनको वजन ५.५ किलाेग्राम मात्र रहेको थियो ।

थापाको शनिबार मणिपालदेखि बौद्ध अर्घौं सदन रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष रानामगरले जानकारी दिए ।

स्राेत: अनलाइखबर