विराटनगर । १ नम्बर प्रदेश सरकारले आगामी फागुन १ गतेदेखि सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ बिक्री एवं वितरणमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको सातवर्षपछि प्रदेश १ मा यसको पूर्ण प्रतिबन्ध लगाइने भएको हो ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ । विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम रुपमा सूर्तिजन्य पदार्थको बिक्री वितरण भैरहेको र त्यसलाई रोक्न पहल नभएको भन्दै फागुन १ गतेपछि प्रदेश सरकार यसको नियमन सुरु गर्न लागेको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरले अहिले निरन्तरन्त रूपममा सरोकारवालहरू छलफल गर्दै आएका छन् । शुक्रबार पनि सामाजिक विकास मन्त्रालयमा मन्त्री घिमिरेले सरोकारवालाहरूसँग छलफल गरेका थिए । उनीहरूले विभिन्न राय र सझाब मन्त्री घिमिरलेलाई दिएका थिए ।

मन्त्री घिमिरेले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताए । फागुन १ पछि ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरित काम गरेको पाइएमा कारवाही गरिने दावी समेत गरे ।

सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालकसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री घिमिरेले विद्यालय परिसरमा यो ऐन कार्यन्वयनका लागि तयारी गर्न निर्देशनसमेत दिएका छन् । विद्यालय परिसरमा सूर्तिजन्य तथा पत्रु खाना (जङ्क फुड) पूर्ण रुपमा निषेध गर्ने प्रदेश सरकारको योजनालाई सबै विद्यालयले कार्यन्वयनका लागि सहयोगी बन्नुपर्ने मन्त्री घिमिरेको भनाइ थियो ।

विद्यालयमा बालवालिकाको स्वास्थ्य परीक्षणका लागि नर्सको दरबन्दी व्यवस्थापन गरिरहेको सरकारले स्वास्थ्यमा असर गर्ने प्रकारका खानेकुरा बिक्रीमा समेत निषेध गरेरै छाड्ने उनको दावी थियो । ‘स्वस्थ्य जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत २० वर्ष उमेर समूहभन्दा माथि सबै नागरिकको स्वास्थ्य परीक्षण गरिने योजना समेत सरकारले अगाडि सार्न लागेको उनले जानकारी दिए ।

२०६८ सालमा जारी भएको ऐन अहिलेसम्म कार्यन्वयनमा आउन नसकेको भन्दै विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा सञ्चालकहरुले पूर्ण कार्यन्वयनका लागि जोड दिएका थिए । प्याब्सन मोरङका सचिब प्रेमलालसिंह सुवालले विद्यालय सरकारले जारी गरेको ऐन पूर्ण रुपमा कार्यन्वयन गर्दै सार्वजानिक स्थलमा सूर्तिजन्य बस्तुको विक्री वितरणमा रोक लगानुपर्ने बताए । यसमा संस्थागत विद्यालयहरुले साथ सहयोग गरि अगाडी बढने उनले बताए ।

मन्त्रालयले सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि विराटनरमा सोमबार वृहत सचेतनामुलक र्याली निकालिने भएको छ । धुम्रपान तथा सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी सचेतना र्याली निकालिने भएको हो । वीरेन्द्र सभागृहमा भेला भइ उक्त ¥यालीले नगर परिक्रमा गर्नेछन् ।