मधुमल्ला । मोरङको उर्लाबारी नगरपालीकाका चर्चित मुर्तीकार मञ्जुल मितेरी सम्मानित भएका छन् ।
शुक्रबार यु युथ अफ उर्लाबारीले मुर्तिकार मितेरीलाई सम्मान गरेको हो । उर्लाबारी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको प्रमुख आतिथ्यता एंब यु युथका अध्यक्ष प्रेम शर्माको सभापत्विमा मुर्तिकार मितेरीलाई सम्मान पत्र, दोसल्ला र नेपाली टोपी लगाएर सम्मान गरिएको छ ।

१ हजार राष्ट्रलाई विश्व प्रसिद्ध ब्यक्तिका मुर्तिहरु उपहार स्वरुप दिने घोषणा गरेका मुर्तिकार मितेरी हाल जापानमा विश्वकै ठूलो बुद्धकाे ढुंगाको मुर्ति निर्माण गरिरहेका छन् । छुट्टिमा घर आएका मितेरी पुनः सोही ठाउँमा केही दिनमा प्रस्थान गर्ने जनाइएको छ । वडाध्यक्ष पौडेलले मुर्तिकार मितेरीले नेपालको शिर उच्च बनाउने काम गरेको भन्दै प्रशंसा गरे ।

त्यस्तै, समाजसेबी जयधर्म आचार्य र पूर्ण वाइबाले पनि मितेरीको योगदानको चर्चा गरे । सम्मानित मुर्तिकार मितेरीले जापानको काम अबको तीन बर्षभित्रमा पूरा गरिसक्ने र त्यसपछि राष्ट्रलाई उपहार प्रदान गर्ने हजार मुर्तिमा पूरा समय दिने बताएका छन् । हजार सपना पूरा गरेरै छोड्ने उनले अठोट ब्यक्त गरे ।

उनले जापानमा विश्वकै ठूलो ढुंगाको बुद्धको मुर्ति निर्माणको कार्य ६० प्रतिशत सकिएको पनि जानकारी गराए । कार्यक्रममा सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत, समाजसेबी विदुर कार्कीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य सहसचिब किशोर श्रेष्ठले राखेका थिए भने सचिब सुरेन शर्माले सञ्चालन गरेका थिए ।