सुपरहिट तेलगु फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन बन्ने भएको छ ।

यो फिल्मको नेपाली भर्सनको निर्माण अनुमति युवा फिल्म्सले लिएको छ । ‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । यो फिल्मको हिन्दी रिमेकसमेत निर्माण भइसकेको छ ।

फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ २०१९ को ब्लकबस्टर फिल्म हो । फिल्ममा शाहिद कपुरले प्रमुख भूमिका निभाएका थिए । ओरिजिनल फिल्ममा भने अभिनेता विजय देवगरकोण्डा प्रमुख भूमिकामा थिए । उनलाई यही फिल्मले रातारात स्टार बनाएको थियो । सन्दीप रेड्डी भाङ्गाले निर्देशन गरेको फिल्मले तेलगु बक्सअफिसमा ५१ मिलियन कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को नेपाली भर्सनमा निर्देशकदेखि कलाकार कोही फाइनल भएका छैनन् । केही दिनमा यसको टुङ्गो लाग्ने निर्माण टिमले बताएको छ । सम्भवतः पहिलो पटक विदेशी फिल्मको राइट्स लिएर नेपाली फिल्म निर्माण हुन लागेको हो ।

यसअघि निर्माता सुवास गिरीले ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक ‘भैरवी’ निर्माण गर्न खोजेका थिए । तर, यो फिल्मको हिन्दी रिमेक अगाडि नै प्रदर्शन हुने भएपछि उनले हात झिकेका थिए । युवा फिल्म्सले भने हिन्दी रिमेक प्रदर्शनपश्चात् पनि नेपाली भर्सन बनाउने जोखिम उठाएको छ ।