सिरहा । सिरहा कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् । १ सय ५० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल २२ महिला, ४ आश्रित बालबालिका र ४ सय ७७ पुरुष गरी ४ सय ९९ कैदीबन्दी रहेको सिरहा कारागारले जनाएको छ ।
सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न बस्नको साथै नुहाउन, दिसापिसाब गर्नसमेत निकै समस्या भएको कैदीबन्दी बताउँछन् । त्यसमा पनि पुरुष कैदीबन्दीभन्दा महिला कैदीबन्दीलाई ठूलो समस्या छ । उनीहरुलाई एउटै शैय्यामा तीन जनासम्म सुत्नुपर्ने बाध्यता छ ।
“एउटै कोठामा १०÷१२ जनासम्म कोचाकोच गरेर राख्दा सुत्न बस्न ठूलै समस्या भइरहेको छ”, कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीले भन्नुभयो, “क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ, तर जम्मा १२ मात्र शौचालय छ ।”
यस्तै अवस्था छ, महिला कैदीबन्दीको पनि । दुई कोठामा राखिएका महिला कैदीबन्दीका लागि केवल दुई शौचालय र एउटा स्नानगृह रहेकाले समस्या भएको महिला कैदीबन्दीको भनाइ छ । एउटा कोठामा १० जनासम्मलाई पुग्ने खाट नअटेपछि तीन÷तीन जना एउटै खाटमा सुत्नुपरेको र खाटमा नअटेर केही महिला बन्दी भुइँमै सुत्न बाध्य भएको थुनामा रहेकी एक महिलाले भने, “कोठा र खाटको अभावले आफूहरुलाई भुइँमै बस्नुपर्ने बाध्यता छ । सुत्ने स्थान र शौचालय समस्याको असर स्वास्थ्यमा परेको कैदीले पीडा पोखेका छन ।
अवस्था उकुसमुकुस छ । उनीहरूले भोग्नु परेका समस्या ठूलो छ ।
“धारामा घण्टौ कुर्नु पर्छ । बस्ने ठाउँ छैन । खाना समेत उभिएर खानु पर्छ । शौचालयमा घण्टौपछि मात्र पालो आउँछ ।”कैदी बन्दीले सुनाएका पीडाले सिरहा कारागारको अस्तव्यस्तता देखाएको छ ।
क्षमताभन्दा बढी बन्दी राखिँदा दैनिक जीवन असहज बनेको उहाले बताए । “आफूहरुको कैद सजाय यातनाजस्तै भएको छ ।
न त आफूहरुको यहाँ स्वास्थ्यकै ख्याल छ न त कुनै सुविधा नै, त्यसमा पनि भवन जीर्ण छ”, उनले भने । क्षमताभन्दा अत्यधिक कैदीबन्दीका कारण ठूलै समस्या सिर्जना भएको कारागारमा निमित्त जेलर बबिता महतोले बताए । भवन अभाव र त्यसमा पनि जीर्ण कारागारभित्र अत्यधिक कैदीबन्दी राखिएका कारण उनीहरुलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता रहेको निमित्त जेलर महतो बताएका छन् ।