धरान/ भिजन फिटनेसको आयोजनामा सम्पन्न तेस्रो मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि विनोद नेपालीले जितेका छन् ।

सहभागी ८ जनालाई पछि पार्दै उनले उपाधिसहित नगद १५ हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र हात पारे । भिजन फिटनेसका सदस्यहरूलाई शारीरिक सुगठन खेलप्रति प्रोत्साहन गर्न आयोजित मिस्टर भिजनको दोस्रो उपाधि धनबहादुर श्रेष्ठ र तेस्रो उपाधि सुरेन्द्र राईले जिते । दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजार रुपैयाँ, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यसैगरी चौथो मञ्जिल श्रेष्ठ, पाँचौं रविन शाही र छैठांै सुरेश लिम्बू घोषित भए । उनीहरूलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिएको थियो । ५५, ६० र ६५ केजी तौल समूहका ९ जना प्रतिस्पर्धीबाट दोस्रो चरणमा ७ जना हुँदै फाइनल चरणका लागि ६ जना छनौट गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायक एशियन जज शिवु मुखिया रहेका थिए । उनलाई निर्णय गर्न राष्ट्रिय निर्णायकहरूले सहयोग गरेका थिए ।

तेस्रो मिस्टर भिजन कार्यक्रम भिजन फिटनेसनको चौथो प्रस्तुतिको रूपमा रहेको भिजन फिटनेसका प्रोप्राइटर केशव श्रेष्ठले जनाए । यसअघि पहिलो प्रस्तुतिमा मिस्टर धरानको आयोजना गरिसकेको उनले बताए ।

श्रेष्ठका अनुसार यसखेलप्रति युवाहरूलाई आकर्षण गर्न र व्यवसायिक बनाउन सहयोग पु¥याउन ३ वर्ष अघिदेखि मिस्टर भिजनको अयोजना शरु गरेको हो । विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान–हङ्कङ मञ्चका पूर्व सचिव चन्द्र सिङ्गक, विशेष अतिथि याक्थुङ सिङ्गक फाउण्डेसनका तेह्रथुम अध्यक्ष मीना सिङ्गक, अभिनेत्री रेखा लिम्बूलगायतले नगद, मेडल तथा प्रमाण–पत्र वितरण गरेका थिए ।

कार्यक्रममा क्यान्सरपीडित तेह्रथुमका ११ वर्षीय जुमा मोसोहाङ लिम्बूको उपचारार्थ सहयोग सङ्कलनसमेत गरिएको थियो । मीना सिङ्गकको संयोजनमा भइरहेको आर्थिक सङ्कलनका लागि अभिनेत्री रेखा आफै दर्शकदीर्घामा गएर सहयोग सङ्कलन गरेकी थिइन् । कार्यक्रममा १७ हजार ४ सय ४५ रुपैयाँ सङ्कलन भएको थियो ।