धरान/ नक्कली नोट बनाएर कारोबार गरेको आरोपमा धनकुटाका एक व्यक्तिसहित चार जना काठमाडौंमा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले धनकुटाका छत्रबहादुर लिम्बूसहित विभिन्न जिल्लाका ४ व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले नक्कली नोट बनाएर बजारमा कारोबार गर्दै आएको खुलेको छ ।
पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना र डोटीका आर्यान खड्का छन् । उनीहरूको साथबाट ४ लाख १३ हजार रुपैयाँ बराबरको नक्कली नोट फेला परेको हो । उनीहरूलाई काठमाडौं र काभ्रेका विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।
नक्कली नोट बनाउनेमा मुख्य योजनाकारका रूपमा खड्का रहेको बताइन्छ । नोट बनाउनेमा बलबहादुर प्रयोग हुँदै आएका थिए भने लिम्बू र बुढाथोकीले भने बजारमा नोट पु¥याउँदै आएको सिआइबीको भनाइ छ ।
बुढाथोकीको साथबाट २ लाख ९८ हजारको नक्कली नोट र बलबहादुरको साथबाट ९० हजारको नक्कली नोटसहित रङ्गीन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ ।
खड्काको साथबाट भने २५ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । लिम्बूको साथबाट भने नोट बरामद नगरिए पनि उनीसमेत यस कारोबारमा संलग्न हुँदै आएको सिआइबीको दाबी छ । उनीहरूमाथि मुद्रासम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।