धरान । स्कमस सेल क्यान्सरबाट पीडित बनेका धरानका पूर्व मेयर ध्यानबहादुर राईलाई नेपाल ल्याइँदै छ ।

दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको उपचारमा थप प्रगति हुन नसकेपछि परिवार नेपालमै ल्याएर उपचार गराउने भएको हो । मेयर राईको उपचारमा सहयोग पु¥याउँदै आइरहेका अग्रज पत्रकार महेश श्रेष्ठका अनुसार फोक्सोमासमेत पानी जम्ने समस्या शुरु भएका कारण नेपाल ल्याउन लागिएको हो ।

परिवारसँग बिहीबार बिहानमात्रै गफ गरेको बताउँदै उनले भने, ‘उपचारमा प्रगति हुन सकेन । त्यही भएर नेपालमै ल्याएर उपचार गर्ने निधोमा पुगेका हुन् ।’ हवाइमार्फत् ल्याउन समस्या भएपछि एम्बुलेन्सबाट नेपाल ल्याउन लागिएको छ । एम्बुलेन्समा एक जना डाक्टरसमेत आइरहेका छन् । 

पूर्व मेयर राईलाई दुर्लभ प्रकारको क्यान्सर भएको एक वर्षअघि पत्ता लागेको थियो । यो क्यान्सर छालाबाट शुरु हुने चिकित्सकहरू बताउँछन् । छाला हुँदै फोक्सोमा पुग्ने बताइन्छ । मेयर राई ६० वर्षका हुन् । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।