विराटनगर/ प्रदेश १ को राजधानी शहर विराटनगरसहित मोरङ जिल्लामा सवारी साधन चोरी हुन थालेपछि मोरङ प्रहरीले ‘स्वीप अप्रेसन’ शुरु गरेको छ । चोरी भएको सवारी साधनको खोजी गरी चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्न प्रहरीले ‘स्वीप अप्रेसन’ शुरु गरेको हो ।

चालू आर्थिक वर्षको पाँच महिनामा जिल्ला प्रहरी कार्यालय मोरङमा सवारी साधन चोरीका ४२ वटा उजुरी परेको छ । प्रदेशको राजधानी रहेको शहर विराटनगर महानगरपालिका क्षेत्रमा सवारी साधन चोरी हुन थालेपछि प्रहरीले चोरको गिरोह र सवारी साधन खोज्न ‘स्वीप अप्रेसन’ शुरु गरेको हो । स्वीप अप्रेसन शुरु गरेपछि चालू आर्थिक वर्षको मङ्सिरसम्ममा २२ वटा चोरीको सवारी साधन नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका सवारीहरू प्रहरीले विभिन्न मितिमा सवारी धनीलाई बुझाएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । बुधबार मोरङ प्रहरीले चोरीका २ वटा मोटसाइकल सवारी धनीलाई बुझाएको छ । ‘स्वीप अप्रेसन अन्तर्गत मोरङ प्रहरीबाट खटिएको टोलीले दुई वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिएको छ’ मोरङ प्रहरीका एसपी अधिकारीले भने, ‘नियन्त्रणमा लिएको मोटसाइकल सवारी धनीलाई बुझाएका छौं ।’

विराटनगर–१० का सन्दीप अग्रवालको पुस १७ गते चोरी भएको मोटरसाइकल प्रहरीले भेटेको हो । अग्रवालको यामाहा कम्पनीको को.२३ प १८० नम्बरको मोटरसाइकल प्रहरीले विराटनगर–४ नोबेल नहरबाट बरामद गरेको थियो । ‘चोरी भएको सवारी साधन खोज्ने क्रममा प्रहरीले मोटरसाइकल फेला पारेको हो’ एसपी अधिकारीले भने, ‘चोरीमा संलग्न व्यक्ति मोटरसाइकल छोडेर फरार भएका छन् ।’

चोरीमा संलग्न भएका गिरोहलाई पनि प्रहरीले खोजी कार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ । यस्तै मोरङको ग्रामथान गाउँपालिका–१ का जितेन्द्रकुमार माझीको पुस ११ गते चोरी भएकोे यामाह कम्पनीको एफजेड ना.३६ प १११५ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । माझीको चोरी भएको मोटरसाइकल प्रहरीले विराटनगर–१४ जतुवास्थित नहरको डिलमा फेला पारेको हो ।

यसैगरी हराएको विभिन्न कम्पनीका ४ थान मोबाइल भेटेर सम्बन्धित धनीलाई बुधबार बुझाएको छ । विराटनगरका केशवबहादुर रायमाझी, सुभद्राकुमारी चौधरी, निर्मल कार्की र रङ्गेलीका रामकुमारी राईको हराएको मोबाइल मोरङ प्रहरीले भेटेर सम्बन्धित धनीलाई एसपी विश्व अधिकारीले हस्तान्तरण गरेका हुन् । यसअघि इलाका प्रहरी कार्यालय बेलबारीले चोरी भएको मोटरसाइकल र हराएका १३ वटा मोबाइलहरू फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले चोरी भएका मोटरसाइकल तथा स्कुटरको खोलिएको इञ्जिनसमेत बरामद गरेको थियो । चोरी भएको सवारीसाधनको खोजी कार्य र गिरोहलाई पक्राउ गर्न मोरङ प्रहरीले सादा पोसाकमा पनि प्रहरी परिचालन गर्दै आएको छ ।

८० स्थानमा ‘अप्रेसन ट्रयाप’
चोरी भएका मोटरसाइकलको खोजी गर्न सोमबार साँझ मोरङका विभिन्न ८० स्थानमा एकै समयमा ‘अप्रेसन ट्रयाप’ गरेको छ । साँझ ४ बजेदेखि ५ बजेसम्म एक घण्टा गरिएको ‘अप्रेसन ट्रयाप’ मा ३ सय ७७ वटा सवारी साधन चेकजाँच गरिएकामध्ये एक दर्जन मोटरसाइकलको ब्लुबुक नभएको फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अप्रेसन ट्रयापको क्रममा ब्लुबुक नबोकी शङ्कास्पद १२ वटा सवारी साधन नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘नियन्त्रणमा लिएका सवारी साधन धनीलाई ब्लुबुक लिएर आउन भनेका छौं ।’ ब्लुबुक लिएर सवारी धनी आए प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता दिनेछ । अप्रेसन ट्रयापअन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा मात्र प्रहरीले १५ स्थानमा सवारी साधनको चेकजाँच गरेको प्रहरीले जनाएको छ ।