भद्रपुर/ हात्ती नियन्त्रण गर्ने भनी निर्वाचनमा गरेको वाचा पूरा नगरेकोप्रति झापाका स्थानीय आक्रोसित बनेका छन् ।
जङ्गली हात्ती नियन्त्रणलाई एजेण्डा बनाएका जनप्रतिनिधिले दुई वर्ष बितिसके पनि हात्ती नियन्त्रण नगरेकोप्रति आक्रोस पोखेका हुन् । झापाको उत्तरी क्षेत्रमा सोलार फेन्सिङ (विद्युतीय तारबार) लगाएपछि केहीवर्ष यताबाट दक्षिण क्षेत्रमा सरेको जङ्ली हात्तीको समूहले जन, धन र अन्नबालीमा क्षति पु¥याउँदै आइरहे पनि सो समस्यातर्फ कसैको ध्यान नगएको उनीहरूको आरोप छ ।
चन्द्रगढी, भद्रपुर, पृथ्वीनगर, बनियानीलगायतका क्षेत्र दैनिक हात्तीको उपद्रोबाट अहिले आक्रान्त बनेका छन् । डिभिजन वन कार्यालयसँग भएको एउटा गस्ती गाडीमा जडित साइरनसमेत सबै क्षेत्रमा नपुगेका कारण सो हात्तीले क्षेत्रका स्थानीयको अन्नबालीमा दैनिक क्षति पु¥याउँदै आइरहेको छ भने पीडितहरू हात्तीको शिकार बन्ने डर बढेको छ । ‘चुनावको समयमा घर–घर र चोक–चोकमा आएर हात्ती हेर्न चिडियाखाना जानुपर्ने भनी भाषण गर्ने नेताहरू अहिले हात्ती घरबस्तीमा आइरहेका बेला के गर्दैछन् ?’ –भद्रपुर– ९ का नूतन पौडेलले आक्रोस पोख्दै भने । चुनावी घोषणा–पत्रमा मात्र हात्ती नियन्त्रण भएको उनको भनाइ छ । विद्युतीय तारबार (सोलार फेनसिङ) का लागि सांसद् विकास कोषबाट दुई जना नेताले ४० लाख रुपैयाँ विनियोजन गरे पनि सो रकम पर्याप्त नहुने उनले बताए ।
हात्तीले मान्छे मा¥यो भने केही महिनामा राहत दिने गरे पनि अन्नबालीको भने चार वर्षसम्म क्षतिपूर्ति नपाएको उनको गुनासो छ । वडानम्बर ९ का सदस्यसमेत रहेका पौडेलले राहत तथा क्षतिपूर्तिको लागि २ सयभन्दा बढी निवेदन पठाए पनि हालसम्म केही हात्ती पीडितले मात्र पाएको भन्दै उनले आक्रोस पोखे । ‘चार वर्षअघि क्षति पु¥याएको अन्नबालीको क्षतिपूर्ति अझैसम्म नपाउने हो भने यो नाटक किन गरेको ?’ –उनले भने । हात्तीपीडितलाई राहत हुने गरी तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन नेता तथा वन डिभिजनलाई उनले सुझाव दिए । हात्तीले पाँच वर्षअघि धानमा क्षति पु¥याएपछि क्षतिपूर्तिको लागि निवेदन दिए पनि हालसम्म राहत नपाएको स्थानीय ध्रुव कार्कीले बताए । वन कार्यालय धाउँदा–धाउँदा दिक्क भएर जानै छाडेको उनले गुनासो गरे ।
हात्तीले दैनिक उपद्रो मच्चाएपछि भद्रपुर नगरपालिकाका ७, ९ र १० वडाका हात्तीपीडितले संयुक्तरूपमा केही दिनअघि जिल्ला प्रशासन कार्यालयमार्फत् सङ्घीय र प्रदेश सरकारलाई जिउधनको सुरक्षाको माग गर्दै ज्ञापन–पत्रसमेत पठाएका थिए । भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी उदय राना मगर र डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेलाई पत्र बुझाएका थिए । हल्दीबारीस्थित जलथल जङ्गलमा सोलार फेन्सिङसमेत जडान भएपछि नजिकै रहेको भेलागढी र चारआली जङ्गलबाट हात्ती गाउँमा पस्न थालेका छन् । आठ या दश वटाको सङ्ख्यामा रहेका हात्तीमध्ये एउटा अन्धो छ । अन्य हात्ती राति गाउँ छिर्छन् भने अन्धो हात्तीले दिउँसो गाउँ छिरेर आतङ्क मच्चाउँदै आएको छ । हात्तीबाट बच्न सो क्षेत्रका केही स्थानीयले विद्युतीय धराप थापेका छन् । धरापमा परेर केही मानिस र हात्तीसमेत मरे पनि वन कार्यालयले त्यसतर्फ कुनै चासो दिएको छैन । बिना अनुमति यसरी धराप राख्नु कानून विपरीत भए पनि वन कार्यालयका कर्मचारी नदेखे झैं गरिरहेका छन् ।
यता चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म राहतका लागि एकसय ८० निवेदन परेको वन डिभिजन हात्ती शाखाका कर्मचारी डिल्ली खरेल बताउँछन् । परेका निवेदनमध्ये सव–डिभिजनबाट आएका ५६ वटा कोशीटप्पु पठाइसकेको उनले जनाए । सव–डिभिजनबाट ढिलो आएकोले ढिलाइ भएको उनको भनाइ छ । क्षति भएको ३५ दिनभित्र माग निवेदन नआएमा दर्ता नहुने उनले बताए । गत आर्थिक वर्ष ०७४÷७५ सम्म ३ सय ४० जनालाई ४७ लाख एक हजार ७ सय ४५ रुपैयाँ राहत वितरण गरिसकिएको लेखा शाखाले जनाएको छ । ०७५÷७६ को कात्तिक २७ गतेसम्म ३ सय ७३ जनाको लागि ५० लाख ५३ हजार ७ सय ४५ रुपैयाँ राहत रकम आएको उल्लेख छ ।
सङ्घीयताका कारण कार्य विभाजनमा अन्यौल देखिएपछि एक वर्ष ढिलाइले गर्दा त्यसको असर पर्दै गइरहेको सहायक वन अधिकृत देवेन्द्र उप्रेती बताउँछन् । राहत वितरणमा पछिल्लो समय ढिलाइ नभएको उनले बताए । हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि जलथल जङ्गल हुँदै मागुरमाडीसम्म १ सय ४५ किलोमिटर क्षेत्रमा जैविक मार्ग सोलार फेन्सिङका लागि काम शुरु भइसकेको उनको भनाइ छ । गतवर्ष सोलार फेन्सिङका लागि प्रकृति संरक्षण कोषबाट ६ करोड र चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ विनियोजन भएको उनले जनाए । २०६२ सालदेखि ०७६ मङ्सिरसम्मकोे तथ्याङ्कअनुसार ११ वटा हात्ती मान्छेका कारण मरेका छन् भने ४१ जनाको ज्यान गएको छ । हात्तीले सयौँको घरगोठमा क्षति पु¥याएको छ ।































