इटहरी/ सुनसरीको इटहरी–१९ मा रहेको भवानीपुरमा रहेको गणेशमान पार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्दै गएको छ । सानो जङ्गलभित्र पर्यकटहरूको लागि सुविधायुक्त स्थान भएको कारण दैनिकजसो पर्यटकहरूको भीड बढ्न थालेको छ ।
पछिल्लो समय घुम्न आउनेहरूको सङ्ख्या बढ्न थालेको भन्दै स्थानीयहरू उत्साहित भएका छन् । सरकारले पर्यटन वर्ष २०२० मनाइरहे पनि ग्रामीण पर्यटनको विषयमा धेरै चासो नदिएको सर्वसाधारण बताउँछन् । सरकारले ग्रामीण पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने स्थानीयको माग छ । इटहरी–१९ का स्थानीबासी सन्देश राईले भवानीपुरको गणेशमान स्मृति पार्कलाई सरकारी लगानी बढाउनु पर्ने बताए । उनले अहिलेसम्म सरकारी पक्षबाट सोचेअनुसार काम नभएको भन्दै दुःखेसो पोखे । सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखे पनि ग्रामीण पर्यटन ओझेलमा पर्दै गएको भन्दै प्रदेश र सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरे ।
ग्रामीण पर्यटनलाई लक्षित गरेर पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने इटहरीबाट वनभोज खान गएका कृष्ण भट्टराई बताउँछन् । वनभोज खानको लागि एकान्त र रमाइलो ठाउँ भएको कारण भवानीपुर उत्कृष्ट गन्तव्य भएको बताए । ‘तालसँगै रमणीय वातावरणसमेत भएको कारण आन्तरिक तथा वाह्य पर्यटकले जानैपर्ने ठाउँ रहेछ’– उनले भने । अहिले आन्तरिक पर्यटकहरू भने आउने क्रम बढेको छ । इटहरीबाट वनभोज खानकै लागि गएका शिव दाहालले गणेशमान स्मृति पार्कलाई सरकारले लगानी गरे प्रमुख गन्तव्य बन्न सक्ने बताए ।
हाई–वेबाट नजिक र सुविधायुक्तस्थल भएको कारण यसलाई सरकारी लगानी आवश्यक भएको उनले बताए । पर्यटन वर्ष २०२० लाई सरकारले नारामा मात्र सीमित नगरी यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने उनको आग्रह छ । गणेशमान स्मृति पार्कका अध्यक्ष काजीलाल गिरीले पर्यटकहरूलाई आकर्षित गर्ने काम गरिरहेको बताए । ‘हामी ग्रामीण पर्यटनलाई प्रथामिकतामा राखेर अगाडि बढ्दैछौं’ –उनले भने । यहाँको प्राकृतिक वातावरणले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ । तर अहिलेसम्म पर्याप्त पर्यटकहरू नआउँदा भने ग्रामीण पर्यटनको विकासमा समस्या देखिएको उनी बताउँछन् । ‘पार्कमा अहिलेसम्म सरकारी लगानी करिब २० लाख रुपैयाँ खर्च भइसकेको छ’ उनले भने, ‘तर यो लगानी थोरै भयो, सरकारले राम्रो लगानी गर्ने हो भने यो पार्क पर्यटकीय गन्तव्य हुनेछ ।’
त्यहाँ वनभोज खान आउनेहरूको लागि कटेज तथा पानीको समेत राम्रो व्यवस्था मिलाइएको छ । त्योसँगै शौचालय तथा भौतिक पूर्वाधार निर्माणमा पनि लागिपरेको गिरी बताउँछन् । पर्यकीय क्षेत्रलाई व्यवस्थित गर्दै लाने उद्देश्य रहेको स्मृति पार्क समितिले जनाएको छ । इटहरी–२० तरहरा चोकबाट १ किलोमिटरभित्र पर्ने यो पार्कलाई सूर्य टोल भनेर समेत चिनिन्छ । सरकारले पर्यटन वर्ष सफल बनाउने हो भने ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रको स्तर वृद्धि गर्दै जानु आवश्यक छ । सरकारी क्षेत्रबाट मात्र नभई निजी क्षेत्रले पनि पर्यटकीय क्षेत्रहरूलाई व्यवस्थित गर्दै लैजाने हो भने आन्तरिक तथा वाह्य पर्यटकसँगै स्थानीय सर्वसाधारणको आम्दानीको स्रोत बन्न सक्छ । तसर्थ यस्ता ग्रामीण पर्यटकीय क्षेत्रहरूमा सरकारी र निजी क्षेत्रको ध्यान जानु जरुरी छ ।































