जसरी सन् २०१९ मा अन्यत्र खासखास घटना भए, त्यसरी नै प्रदेश १ मा पनि केही त्यस्ता घटना भए, जुन मानिसको मुटु कमाउनेखालका थिए । समय व्यतित भएकाले मात्रै क्षणभङ्गुरका लागि भुलेका छन् । तर, यी घटनाहरू मानसपटलबाट सायदै निस्केलान् । के भएका थिए त ? प्रदेश १ मा त्यस्ता घटना ।
साढे ३३ किलो सुन
साढे ३३ किलो सुन तस्करीसँग जोडिएको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण प्रदेश १ को मुख्य घटनामध्येको एक हो । सुन तस्करी र हत्या प्रकरणको मुद्दामा मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ सहित पहिलो चरणमा गत वैशाख १९ गते ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो । मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा ‘आपराधिक समूह स्थापना, सञ्चालन गरी सुन चोरी–पैठारी, चोरी–निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा’ दर्ता भएको थियो । उनीहरू विरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अवैध रूपमा सुन आयात गरेको दाबीसहित मुद्दा दायर गरिएको थियो ।
मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी गोरे, प्रहरी अधिकारीसहित मोरङ अदालतका तत्कालीन न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते सुन तस्करी र हत्या प्रकरण मुद्दामा पक्राउ परेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने, एक जनालाई धरौटी र एक जनालाई सामान्य तारेखमा राख्ने आदेश दिएको थियो । गत माघ ९ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा आएको साढे ३३ किलो सुन बाटैबाट गायब भएपछि सुन खोज्ने क्रममा गोरेको समूहले सनम शाक्यको हत्या गरेको थियो ।
आरुबोटे हत्याकाण्ड
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डले राष्ट्र मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि सोच्न बाध्य बनाइदियो । २०७६ साल जेठ ६ गते घटेको यो घटनाले संसारभरका मानिसलाई नै हल्लाइदियो । ज्वाइँ–ससुरासहित दुई परिवारका ९ जनाको वंश नाश हुने गरी भएको यो घटनालाई त्यहाँका स्थानीयले त अझै भुल्न सकेका छैनन् । हत्या भएका बमप्रसादको घरमा अहिले उनकै साइँली छोरी बुद्धमाया योङ्हाङ बस्दै आएकी छन् भने धनराज शेर्माको घर खाली रहेको छ । आरुबोटेका बमबहादुर फियाक र उनकै ज्वाइँ धनराज शेर्मासहित २ घरका नौ जनाको हत्या भएको थियो । सो समयमा पुर्शीमाया फियाक, मनकुमारी फियाक, आशिका खजुम, जस्मिता फियाक, युहाना शेर्मा, मूना शेर्मा र इच्छा शेर्माको हत्या भएको थियो । हत्यामा संलग्न रहेको आशङ्का गरिएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको मिक्लाजुङ–८ लिम्बामा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा प्रयोग गरिएको खुकुरी त्यही स्थानबाट बरामद भएको थियो । हत्यामा उनकै संलग्नता रहेको प्रहरीको निष्कर्ष छ ।
टिपरको ठक्करले जलेको विराटचौक
२०७५ माघ १४ गते मोरङको सुन्दरहरैँचास्थित स्थानीय इन्द्रपुर स्कुलमा अध्ययनरत ११ वर्षीया लक्ष्मी ढकालको सुन्दरहरैँचा–११ स्थित सडकमा बाटो काट्ने क्रममा टिपरको ठक्करबाट मृत्यु भयो । ना.३३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिएको थियो । उनी सुन्दरहरैँचास्थित इन्द्रपुर बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत थिइन् । आक्रोसित स्थानीयले ७ वटा टिपर जलाए । एकैछिनमा सो क्षेत्रमा आगो दन्किन थाल्यो । स्थानीय टिपर आतङ्कको विरोधमा प्रदर्शनमा उत्रिए । प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मे परेपछि निषेधाज्ञा जारी ग¥यो । ठक्कर दिने टिपरका चालक फरार रहेको र आगलागीबाट टिपरहरू पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको थियो । सोही ठाउँमा स्थानीयले घेरा हाली टिपर जलाएका थिए । ठूलो सङ्ख्यामा प्रहरी त्यस स्थानमा पुगे पनि भीड नियन्त्रण गर्न नसक्दा आगजनी भएको थियो ।
रहस्यमय रीना मृत्यु
पथरीशनिश्चरे त्रिवेणी चोकको साझा लाइनमा डेरा गरी बस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउस सञ्चालिका रीना बस्नेतको मृत्युले धेरैको दिमाग हल्लाएको थियो । मृत्युको ९ महिना बितिसक्दा पनि घटना कसले घटाएको भन्ने एकिन हुन सकेको छैन । तत्कालीन अवस्थामा इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईं नेतृत्वको टोलीले सो घटनाको अनुसन्धान अघि बढाएको थियो । घटनाको अनुसन्धान फितलो भयो भनेर स्थानीय व्यापारी तथा पथरीबासीको गुनासो पटक–पटक नआएको पनि होइन । उद्योग वाणिज्य सङ्घ पथरीले रहस्यमय मृत्यु नभई हत्या भएको भन्दै यथाशीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनको ध्यान आकर्षण गर्दै विज्ञप्ति निकालेका थिए ।
पथरी बजारमा एकपछि अर्को हत्याका घटना बढ्नु सुरक्षाको हिसाबमा गम्भीर भएको बताउँदै घटनाक्रमलाई अध्ययन गरेर सुरक्षा रणनीति तय गर्न नसक्नु स्थानीय प्रहरी प्रशासनको कमजोरी भएको विज्ञप्तिमा उल्लेख थियो । वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेत, लायन्स क्लब अफ पथरीका उपाध्यक्ष टीकाप्रसाद दङ्गाल र लायन्स क्लब अफ पथरी योङ हार्टका अध्यक्ष केदार बोहोराले नगरप्रमुख दिलिपकुमार राई र इप्रकालाई शान्ति सुरक्षा मजबुत बनाउन पहलको माग गर्दै ध्यानाकर्षण–पत्र बुझाएको थियो । नगर प्रमुख राईले रीना बस्नेत मृत्यु प्रकरणसहितका आपराधिक शृङ्खलाबाट चिन्तित हुँदै घटनाहरूबारे सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न प्रशासनसँग सहकार्य गर्ने जनाएका थिए । रीना बस्नेतको प्रेमी भनिएका कमल नेपालले बेलबारी इप्रकामा गएर आत्मसमर्पण गरेका थिए । राति १२ बजेसम्म उनी कमल नेपालसँग फोनमा कुरा गरेको उनका छोराले बयान दिएपछि उनलाई प्रहरीले अनुसन्धानको लागि बोलाएको थियो । कल डिटेलमा पनि कमलसँग कुरा गरेको पाइएपछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको तत्कालीन इन्स्पेक्टर कमल बजगाईंले बताएका थिए । सोधपुछपछि नेपाल केहीदिनमै छुटेका थिए ।
फिदा हुसेन हत्या
सुनसरी दुहबीस्थित जयबाबा इँटा भट्टाका तत्कालीन सुपरभाइजर फिदा हुसेन हत्याले पनि हरेकको मानसपटललाई हल्लाइदियो । सुटर हालसम्म फरार छन् । श्रीमतीसँगै बिहानको समयमा इँटा भट्टातर्फ जाँदै गर्दा हुसेनलाई मोटरसाइकलमा आएको हतियारधारी अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । मुस्लिम समुदायले सुरक्षाको माग गर्दै दुहबी बजारमा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन–पत्रसमेत बुझाएका थिए ।
अनुसन्धानका क्रममा सुनसरी प्रहरीले दुहबीस्थित जयबाबा इँटा भट्टाका तत्कालीन सुपरभाइजर हुसेन हत्या आरोपमा चारजनालाई पक्राउ ग¥यो । दुहबी नगरपालिका–९ छाताबेलीका मोहम्मद जाकिर हुसेन, मोहम्मद सकिम हुसेन, जमाल मियाँ र दुहबी नगरपालिका–१२ का ईश्वर रहेका छन् । उनीहरू हाल झुम्का कारागारमा थुनामा रहेका छन् भने फिदा हुसेनलाई गोली हान्ने रञ्जित मेहता अझै फरार रहेको जनाइएको छ । मेहता भारतमा लुकेर बसेको र पक्राउ गर्न टोली परिचालन गरिएको सुनसरी प्रहरीस्रोतले जनाएको छ । पक्राउ परेका अभियुक्तहरूको बयानका आधारमा फिदा हत्यामा गोली हान्न प्रयोग भएको एकथान कटुवा पेस्तोल, फायर भएको एक राउण्ड खोका र दुई राउण्ड गोली बरामद गरिएको पत्रकार सम्मेलनमा सुनसरी प्रहरीले जनाएको थियो । अभियुक्तहरूको बयानका आधारमा हत्यापछि मन्दिरको हातामा गाडेर राखेको अवस्थामा हतियार र एकथान चक्कु पनि फेला परेको थियो । ५४ वर्षीय फिदा हुसेनको गतवर्षको मङ्सिर ५ गते गोली प्रहार गरेर हत्या गरिएको थियो ।
बिर्तामोडको हनी ट्रयापिङ
युवतीको माध्यम (हनी ट्रयापिङ) बाट झापाको बिर्तामोडमा व्यवसायीलाई बन्धक बनाउने प्रयास गरेको घटना पनि चर्चाको शिखरमा पुग्यो । साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका –४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बङ्गालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शङ्कर पक्राउ परे । इलामको फाकफोकथुम गाउँपालिका– १ घर भई बिर्तामोड नगरपालिका–२ चारपाने बस्ने रितु फियाक लिम्बूलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो । हनी ट्रयापिङको घटना प्रदेशमै पहिलो भएको हुनसक्ने प्रहरीको अनुमान छ । काठमाडौंमा सुनिदै आएको यस प्रकारको सङ्गठित अपराध पूर्वमा पहिलो पटक थाहा पाएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
आमाबाटै शिशुको हत्या
गत जेठ १४ मा भोजपुर बजारकी २५ वर्षीया सम्झना थापाले आफ्नै २२ महिनाको छोरालाई अचानोमा राखी घाँटी छिनाएर दुई टुक्रा पारिन् । पक्राउपछि उनले प्रहरीसमक्ष बच्चा रोएर हैरान बनाएकोले हत्या गरेको बयान दिएकी थिइन् । प्रहरीका अनुसार सम्झानाले लामो समयदेखि मानसिक रोगको औषधि सेवन गरिरहेकी थिइन् । लघुवित्त कम्पनीमा काम गर्ने उनका श्रीमान् सूर्य थापा सम्झनासँग थिएनन् ।
प्रहरी र विप्लव कार्यकर्ताको मृत्यु
गत असार २५ मा भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भयो । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका एक कार्यकर्ता निरकुमार राईको मृत्यु भएको थियो भने अर्का प्रहरी सोम भट्टराई घाइते भएका थिए । विप्लव समूहको गोलीबाट प्रहरी मारिएको यो पहिलो घटना थियो । हटियामा रहेको पान्धारे होटलनजिकै विप्लव कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान राईलाई गोली हानेपछि प्रहरीले विप्लव समूहका निरकुमारलाई पनि गोली हानेको थियो ।