आफ्नो आश्रममा आएकी २९ वर्षीया महिला अनुयायीलाई जबरजस्ती करणी अर्थात् बलात्कार गरेको अरोप लागेका ४५ वर्षीय सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी तीन लाख रुपैयाँ धरौटीमा सोमबार छुटे । अदालतले तीनलाख रुपैयाँ धरौटीमा छुटाउन आदेश दिएपछि उनी छुटेका हुन् । आम सर्वसाधारणले यौन दुव्र्यवहार गरेपछि पक्राउ परेमा तत्काल अँध्यारो छिंडी जस्तो हिरासतमा राखिए पनि यस केसमा सिद्धबाबा भाग्यमानी सावित मात्र भएनन् बलात्कार गरेको किटानी जाहेरी नै परेर पीडित महिलासँग माफ मागेको अडियो रेकर्ड, मोबाइलको म्यासेज, मुचुल्का, दुई भक्तजनले सिद्धबाबालाई मोबाइल उपलव्ध गराएको सबुत प्रमाण पुग्दा पनि तीन लाख रुपैयाँ धरौटीमा छुटे । अनुसन्धान जारि रहँदा सम्भवतः प्रहरीको हिरासतमा नबसी अस्पतालको डिलक्स रुमलाई भिआइपी हिरासत बनाएर बस्ने मुलुककै पहिलो मान्छे कृष्णबहादुर गिरी नै हुन् भन्दा फरक नपर्ला । बलात्कार प्रयास गरेको अभियोग लागेका सभामुख कृष्णबहादुर महरा हिरासत मै राखिए र थुनछेक बहसपछि अहिले पुर्पक्षका लागि काराकार चलान गरिएका छन् । बलात्कार अभियोगका लागि पुख्ता सबुत प्रमाण भएकाले कृष्णबहादुर गिरी पनि महरा जस्तै पुर्पक्षका लागि थुनामा जान्छन् भन्ने धेरै कानून व्यवसायी, पीडित पक्ष र सर्वसाधारणले अनुमान गरेका थिए । तर, उनी थुनामा बस्नबाट तत्कालका लागि जोगिए । शायद, यतिबेला उनी आफूले राहत पाएको महसुस गरिरहेका छन् ।

नेपाली समाजको न्यायिक माहौलमा यति बेला नयाँ कानूनी अभ्यास जारी छ । कुनै बालिका वा युवती अथवा महिलालाई असहज हुने गरी थोरै सेकण्डका लागि मात्र लगातार हेरेमा वा नियतवश शरीरका कुनै अङ्गमा स्पर्शमात्र गरेमा आफू पीडित भएको महसुस गरी प्रहरीमा उजुरी गरे कैद सजाय दिने व्यवस्था छ । झन्, बलात्कार नै गरेको भनेर पीडित पक्षबाट किटानी जाहेरी, फोन सम्वाद, म्यासेज, फोन सम्वादमा गल्ती भएको स्वीकार गर्दै माफी नै मागेको अडियो रेकर्ड, दुई अनुयायीले म्यासेजका लागि फोन उपलव्ध गराएको, कात्तिक ४ गतेका समयमा गिरीको आश्रममा पीडित महिला पुगेको, मुचुल्का नै उठाएको, म्यासेजमा गिरीले ‘आउन नानी नुनु गर्नु’ भनेर सङ्केत गरेको जस्ता प्रमाण आफैमा काफी थिए । यी त भए प्राथमिक प्रमाण । सबैभन्दा ठूलो प्रमाण त महिला आफै आफ्नो परिवार, समाज, सन्तान, श्रीमानलाई दाउमा राखेर खुल्लम खुल्ला सार्वजनिक रुपमै ‘सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीले मलाई आश्रममा बोलाएर बलात्कार ग¥यो, न्याय पाउँ भनेर आउनु नै हो । यसभन्दा ठूलो प्रमाण बलात्कारको केसमा अरु के हुन सक्छ ? जब की सरकारी वकिलको कार्यालयले मूलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १, २ र ३ (ङ) बमोजिम कसुर गरेको तथ्य पुष्टि भएकाले निज प्रतिवादी सिद्धबाबा, रामकृष्णाचार्य, श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरी उपर सजाय माग दाबी गरी उनीमाथिको अभियोग पत्र सुनसरी जिल्ला अदालतमा बुझाएको थियो । बलात्कारबाहेक अरु प्रकारका मुद्दा परेको भए र तीन लाख रुपैयाँ धरौटीमा छुटेका भए शायद यति चर्चा हुन्न थियो होला। तर, बलात्कार आफैमा मानव समाजका लागि अमानवीय, घृणित, असभ्य, यौन अपराध, महिला अस्मिताको अस्तित्वमाथि खेलवाड, सामाजिक कलङ्क भएकाले नै कतिपय मुलुकमा मृत्यु दण्ड, आजीवन काराबासको समेत व्यवस्था गरिएको छ ।

झन्, ब्रम्हचारी, हिन्दु धर्मशास्त्रको सर्वाेच्च पद जगद्गुरु, अनन्तश्री, महायोगी सिद्धबाबा संज्ञा पाएका कृष्णबहादुर गिरी त त्रिदण्डधारी पनि हुन् । त्रिदण्डधारीले महिलालाई छुन त के हेर्न पनि हुँदैन भन्ने हिन्दु धर्म दर्शनको मुख्य मान्यता छ । तर, छेकथुन बहसमा उनको पक्षमा भजन कीर्तनसहित नाराबाजी भने केही महिला अनुयायीहरुले गरेको पनि देखियो । महिलासँग सम्पर्क, सम्बन्धमा नआउने भनिएका त्रिदण्डधारी सिद्धबाबाको पक्षमा पुरुष अनुयायीले नारा जुलुस लगाएको भए धर्म र कर्तव्य सुहाउँदिलो स्वाभाविक देखिन सक्न्थ्यो । धार्मिक आवरण ओढेर बसेका वास्तविक साधु सन्त महन्तप्रति आस्था, विश्वास हुनु जायज मान्न सकिन्छ तर बलात्कार गरेको भनेर स्वयम् पीडित महिलाले नै मुखै फोरेर, समाजले के भन्छ भनेर चिन्ता नलिई, श्रीमान्ले छाड्छ होला भन्ने शङ्का नगरी आफ्ना दुई सन्तानको भविष्यलाई समेत दाउमा राखेर न्याय खोज्दै आएकी महिलाले अब कहाँ जाने न्याय माग्न ? कि लाज, डर, आत्मग्लानि, हिनताबोध, मानसिक तनाव बोकेर बाँच्ने ? कि बलात्कारीलाई सजाय दिन शालिन विद्रोह गर्ने ? यी प्रश्नका उत्तर कसले दिने ? उनले पक्कै पनि समाज, परिवार, श्रीमान्, छोराछोरी, प्रहरी, अदालत, कानून र राज्यलाई पङ्गु त बनाइएकी होइनन् । दुनियालाई पङ्गु बनाउन यति धेरै आफैलाई दाउमा राख्न पीडित महिलाको कुनै स्वार्थ भए तीन लाख धरौटीमा छुट्ने त्यो सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीले दिन सक्नुपर्छ ।