धरान/ उपचार खर्च तथा क्षतिपूर्तिको मागसहित पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न नेपाल पत्रकार महासङ्घ सुनसरीले प्रशासनमा ध्यानाकर्षण–पत्र बुझाएको छ ।
सोमबार महासङ्घको टोली पुगेर जिल्ला प्रशासन कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा ध्यानाकर्षण पत्र दिएको हो । इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले पत्रकारको टोलीले ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्रको पहिलो बुँदामा दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
त्यस्तै उपचार खर्चको व्यवस्था, क्षतिपूर्ति भराउने माग पनि गरिएको छ । बुँदा नम्बर तीनमा भने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय मान्यताअनुसार अक्षुण राख्दै निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । महासङ्घको तर्फबाट पूर्व केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक किशोरकुमार कार्की, महासङ्घ सुनसरीका पूर्वअध्यक्ष राजेश विद्रोहीले ध्यानाकर्षण पत्र बुझाएका थिए ।
पत्रकारहरूलाई भयरहित काम गर्ने वातावरण तयार पार्नका लागि पनि पूर्वाञ्चल संयोजक कार्कीले आग्रह गरे । ध्यानाकर्षण पत्र बुझ्दै डिएसपी न्यौपानेले पत्रकारमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिएको बताए । उनले कानूनको अधीनमा रहेर आरोपीलाई बढीभन्दा बढी सजाय दिलाउने प्रतिबद्धता गरे । आरोपीलाई कुटपिट वा अङ्गभङ्ग मुद्दा दर्ता गरिएको छ । इप्रका धरानपछि महासङ्घको नेतृत्वमा टोली इनरुवास्थित जिल्ला प्रशासन कार्यालय पुगेर सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।
पत्रकार काफ्लेमाथि सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको सङ्घर्ष समितिले गरेको पत्रकार सम्मेलनमा समाचार सङ्कलन गर्न ढिला गरी आएको भन्दै आक्रमण गरेका थिए । आक्रमणबाट काफ्लेको नाक तथा आँखाको आँसु बग्ने नली चुँडिएको थियो । हाल उनी विराटनगर आँखा अस्पतालमा शल्यक्रियापछि आराम गरिरहेका छन् । काफ्लेमाथि आक्रमण गर्ने ६ जनाविरुद्ध कुटपिट वा अङ्गभङ्गमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।