यासोक/ पाँचथरको कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिका–७ को देउराली भीरमा सवारी साधनले जोखिम मोलेरै यात्रा गरिरहेका छन् ।
साँघुरो र भिरालो सडकका कारण सवारी साधनले जोखिम मोल्नु परेको चालकहरूको गुनासो छ । २०७५ सालमा डेनमार्क सरकारको सहयोगमा उन्नति परियोजनाले सडक स्तरोन्नति गरेको थियो । चट्टान र ठुलो भीरमाथिबाट पहिरो झर्ने भएका कारणले सडकमा स्थानीयले जोखिम मोल्दै आएका छन् । सडकको भौगोलिक अवस्थाका कारण यात्रुमा पनि त्रास बढ्ने गरेको छ । सडक मुनिबाट लगाएको ग्याभिङ वाल पहिरोले बगाए पछि सवारी साधनले जोखिम मोल्दै आएका हुन् । उन्नति परियोजनाले यासोक उत्तरे सडक खण्डमा उपभोक्ता समितिमार्फत स्तरोन्नति गरेको थियो ।
१६ किलोमिटर सडकमध्ये जोखिम पूर्ण सडक दुवै स्थानीयतहले सोही स्थानलाई लिँदै आएका छन् । सडकमाथि ठुलो भीरसहितको चट्टान र सडक मुनि पनि ४ सयदेखि ५ सय मिटरसम्मको भीर भएकाले सडक चौडा गर्न समस्या भएको फाल्गुनन्द ६ का वडा अध्यक्ष नारायणप्रसाद आङ्देम्बेले बताए । लामो समयदेखिको समस्या समाधान गर्न करोडौं रुपैयाँ खर्च भइसकेको छ । सडक चौडा गर्ने क्रममा पटक पटक पहिरो झर्दा स्थानीयले समस्या भोग्दै आएका छन् ।
लामो दूरी र छोटो दूरीका सवारी साधनको लागि उक्त स्थानको यात्रा कठिन हुने गरेको छ । साना सवारी साधन साँघुरो सडकमा जोखिमपूर्ण रूपमा आवत जावत गर्दै आएका छन् । तर, ठुला सवारी साधनको लागि ठुलो जोखिम मोल्नु पर्ने गरेको उद्योग बाणिज्य सङ्घ शाखा यासोक अध्यक्ष मेघराज निरौलाले बताए । वर्षातको समयमा मालवाहक सवारी साधन झापा राँके फिदिम हुँदै यासोक पुग्ने गरेका छन् । ठुला सवारी साधनको लागि लामो दूरीको सडक घम्नुपर्ने बाध्यता छ । यासोक राँके ३२ किलोमिटर सडक छ । तर, अधिकांश सवारी साधन लामो दूरीको सडक पार गरेर कुम्मायक र फाल्गुनन्द गाउँपालिका पुग्ने गरेका छन् ।
यासोक उत्तरे सडक खण्ड स्तरोन्नतिको लागि ४ करोड रुपैयाँ खर्च भइसकेको छ । तर, सडकको अवस्था सुधार नहुँदा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । प्रदेश सरकारले उत्तरे यासोक सडकलाई क्रमश कालो पत्र्रे गर्ने बताउँदै आएको छ । राँके रवि सकड कालोपत्र्रेको काम अघि बढेको छ । सो सडकसँगै जोडिएको उत्तरे यासोक सडक १६ किलोमिटर छ ।
दुवै स्थानीयतहको समृद्धिको आधार उत्तरे यासोक सडक पनि भएकाले सडक कालोपत्रे गर्नको लागि पहल गर्ने फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुङबाङले बताए । प्रदेश र केन्द्रबाट सहयोग लिएर भए पनि सो सडकलाई कालोपत्रे गर्न पहल गर्ने उनले बताए । ‘विकाशको पहिलो संरचना सडक हो, स्थानीयतहको उप निर्वाचनमा मैले गरेका प्रतिबद्धताको रूपमा यासोक उत्तरे सडक पनि पर्छ । यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्रसँग सहकार्य हुन्छ, कुरुम्बाङले भने ।