विराटनगर/ विराटनगर महानगरपालिका ११ नम्बर वडा कार्यालयको बन्न लागेको दुई तले भवन निर्माणमा २ नम्बर इँटा प्रयोग भएको पाइएको छ ।
निर्माणाधीन भवनको ‘टाइबिम’ पूरा गरी गारो उठाउने क्रममा २ नम्बर इँटा प्रयोग गरेको पाइएको हो । भूकम्प प्रतिरोधी भवनका लागि १ नम्बर इँटा प्रयोग गरिनुपर्नेमा गारो उठाउने क्रममा २ नम्बर इँटाको प्रयोग गरिएको पाइएपछि स्थानीयले विरोध गरेका हुन् ।
नयाँ बन्दै गरेको भवनको गारो उठाउने क्रममा २ नम्बर इँटा प्रयोग भएको स्थानीयबासीले देखेर विरोध जनाएका थिए । स्थानीयले विरोध गरेपछि प्राविधिक टोली भवन निर्माणस्थलमा आएको थियो । गारो उठाउने क्रममा २ नम्बर इँटा प्रयोग भएको पाइएपछि करिब १ हजार ५ सय इँटा निर्माणस्थलबाट बिहीबार हटाएको हो ।
भवन निर्माणका निम्ति १ नम्बरको इँटा प्रयोग गर्नुपर्ने भए पनि २ नम्बर इँटा प्रयोग गरिएको विराटनगर–११ का दिलिप सहनीले बताए । ‘निर्माणाधीन वडा कार्यालयको भवन निर्माणमा १ नम्बर इँटा प्रयोग गर्ने सम्झौता भएको थियो’ उनले भने, ‘यहाँ २ नम्बर इँटा प्रयोग भएको पाइयो ।
निर्माणस्थलमा भेटिएको १५ सय इँटा २ नम्बर भएको प्राविधिक टोलीले पनि पुष्टि गरिदिएको छ ।’ वडाको भवन बनाउन ल्याएको इँटा कमसल रहेको उनले दाबी गरे । ‘निर्माणस्थलमा राखिएका इँटाहरू धेरै टुटफुट भएका छन्’ उनले भने, ‘सग्लो इँटा पनि तीन फिट माथिबाट तल फाल्दा टुक्रा–टुक्रा हुने गरेको थियो ।’
उपभोक्ता समिति बनाए ८४ लाख ९७ हजार २ सय ४४ रुपैयाँ लागतमा वडा कार्यालयको भवन निर्माण शुरु भएको हो । २०७६ साल कात्तिक १ गतेबाट निर्माण कार्य शुरु भएको छ । यादनरसिंह कार्की अध्यक्ष रहेको उक्त उपभोक्ता समितिमा सात सदस्य छन् । निर्माण शुरु भएको करिब दुई महिनामा टाइबिम सकेर यतिखेर गारो उठाउने काम भइरहेको छ । गारो उठाउने क्रममा केही ठाउँमा २ नम्बर इँटा प्रयोग भएको स्थानीयको विरोधपछि हटाएको छ ।
वडा कार्यालयको भवन निर्माण तीव्र रूपमा भए पनि निर्माणको स्टिमेटमा उल्लेखित शर्तअनुसार निर्माण कार्य नभएको स्थानीयको आरोप छ । स्थानीय सहनीका अनुसार भवन निर्माणमा आंशिक मात्र १ नम्बरको इँटा प्रयोग भएको दाबी गरे । निर्माणाधीन भवनमा कमसल सामग्री प्रयोग भएकोले मापदण्ड विपरीतका सामग्री हटाएर गुणस्तीय सामान प्रयोग गर्न स्थानीयले माग गरेका छन् । महानगरपालिकाले उपलब्ध गराएको बजेट सदुपयोग गर्नुपर्ने बताउँदै उनले गुणस्तरीय निर्माण सामग्री प्रयोग गरिनुपर्ने बताए ।
८४ लाख ९७ हजार २ सय ४४ रुपैयाँ कुल लागतमा निर्माण भइरहेको भवनका लागि विराटनगर महानगरपालिकाले ९० प्रतिशत अर्थात् ७६ लाख ४७ हजार ५ सय १९ रुपैयाँ बजेट विनियोजन गरेको छ । उपभोक्ता समितिले १० प्रतिशत अर्थात् ८ लाख ४९ हजार ७ सय २४ रुपैयाँ लागत व्यहोर्ने सम्झौतामा उल्लेख छ । वडा कार्यालयको भवन २०७७ जेठ मसान्तसम्ममा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएको छ ।
विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले विराटनगर महानगरपालिकाका इञ्जिनियर तथा प्राविधिकहरूकै निगरानीमा निर्माण कार्य भइरहेको बताए । अहिलेसम्म गुणस्तरहीन काम नभएको उनको भनाइ छ । ‘धेरै निर्माण सामग्री ल्याउने क्रममा थोरै सङ्ख्यामा २ नम्बर इँटा परेको हुनसक्छ’ उनले भने, ‘निर्माणको क्रममा गुणस्तरहीन इँटा पाइए हामी तत्काल हटाउँछौं ।’
यता गुणस्तरहीन सामग्री प्रयोग गरिएको विषयमा टेलिफोनमा प्रतिक्रिया दिँदै उपभोक्ता समितिका अध्यक्ष यादनरसिंह कार्कीले अरू ठाउँमा लगिएको इँटा वडा कार्यालयको भवन निर्माणस्थलमा झुक्किएर ल्याएको बताए । ‘अन्यत्रका लागि ल्याइएको इँटा यहाँ आएको पाइयो’ उनले भने, ‘२ नम्बर इँटा हामीले बिहीबार नै हटाएको छौं ।’ विराटनगर महानगरपालिकाका इञ्जिनियर सुजन श्रेष्ठले वडा कार्यालयको भवन निर्माणस्थलमा थोरै सङ्ख्यामा २ नम्बर इँटा भेटिएकोले फिर्ता गरिएको बताए ।