विराटनगर / मोरङ प्रहरीबाट खटिएको सिआरभीको आसाइ श्याम कुमार दाहाल घुससहित अख्तियारको टोलीले विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको छ । विराटनगरस्थित गुद्रि बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग ७ हजार रुपैयाँ घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले बुधबार असाइ दाहाललाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका असइ दाहाल केसेलियाका सिआरभी हुन् । उनको नेतृत्वमा केसेलियामा ११ जनाको टोली रहेको छ । भारतबाट आयत भएको तरकारी चेकजाँच नगर्ने भन्दै व्यापारीसँग असइ दाहालले घुस रकम लिने क्रममा अख्तियारले नियन्त्रणमा लिइएको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । दाहालले तरकारी व्यापारीसँग घुस मागेपछि उनी विरुद्ध अख्तियारमा उजुरी गरिएको थियो । प्रवक्ता ढकालका अनुसार दाहालामथि थप अनुसन्धान सुरु भएको छ । इलामबाट सरूवा भएर दुई महिना अगाडी मोरङ प्रहरी कार्यालयमा दाहाल आएका हुन् । दाहाललाई मोरङ प्रहरीले केसेलियाको सिआरभीमा खटाएको थियो । यस अघि पनि अख्तियारको टोलीले मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुससहित रंगेहात पक्राउ गरेको छ । सडक योजना सम्झौता गर्ने क्रममा २१ हजार रुपैया घुस मागेको सूचनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलिले तीन साता अगाडी पक्राउ गरेको थियो । दुईलाख रुपैयाको सडक निर्माणका लागि योजना सम्झौता गर्न आएको पक्षसँग कार्यालयमै घुस मागेका थिए । जहदा १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादव व्यक्ति हत्याको आरोपमा फरार रहेपछि साहले कार्यवहाकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।